दुर्गा प्रसाईं पुनः पक्राउ, सार्वजनिक शान्ति खलबल्याएको आरोप



काठमाडौं, फागुन १७ — राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई प्रहरीले पुनः पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले आज बिहान निवासबाटै उनलाई पक्राउ गरेको हो। सार्वजनिक शान्ति खलबल्याएको आरोपमा समातिएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी डीएसपी ढुन्डीराज न्यौपानेले जानकारी दिए। हाल उनलाई प्रहरी परिसर भक्तपुरमै राखिएको छ।

निर्वाचन विथोल्न सक्ने आँकलनका आधारमा प्रहरीले प्रसाईंलाई नियन्त्रणमा लिएको बुझिएको छ। उनले निर्वाचन बहिष्कार गर्न सार्वजनिक अपिल गर्दै आएका थिए।

यसअघि पनि उनी ४ फागुनमा काठमाडौंबाट पक्राउ परेका थिए र १३ फागुनमा रिहा भएका थिए। गैरकानुनी रूपमा हिरासतमा राखिएको दाबी गर्दै उनकी श्रीमती उमा प्रसाईंले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीशद्वय मनोजकुमार शर्मा र मेघराज पोखरेलको इजलासले थुनामुक्त गर्न आदेश दिएको थियो।

प्रतिक्रिया दिनुहोस्