युएईस्थित नेपाली दूतावासको आग्रह: अनावश्यक यात्रा नगर्नुस्, उच्च सतर्कता अपनाउनुस्



काठमाडौं,फागुन १७ — संयुक्त अरब इमिरेट्सस्थित नेपाली दूतावासले युएईमा रहेका नेपाली नागरिकलाई अनावश्यक यात्रा नगर्न र उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

शनिबार जारी विज्ञप्तिमा मध्यपूर्वी क्षेत्रमा विकसित भइरहेको परिस्थितिलाई ध्यानमा राख्दै सम्भावित जोखिमबाट जोगिन सचेत रहन अनुरोध गरिएको हो। विज्ञप्तिमा युएई सरकार तथा नेपाली दूतावास/महावाणिज्य दूतावासले जारी गर्ने सुरक्षा मार्गनिर्देशन र सूचनाको पालना गर्न सबै नेपालीलाई आग्रह गरिएको उल्लेख छ।

दूतावासले विशेष गरी अनावश्यक आवागमन कम गर्न, भिडभाड भएका स्थानबाट टाढा रहन तथा आधिकारिक स्रोतबाट प्राप्त सूचना मात्रै विश्वास गर्न आग्रह गरेको छ।

दूतावासका अनुसार आपत्कालीन सूचना, सल्लाह तथा सहयोगका लागि अबुधाबीस्थित नेपाली दूतावास र दुबईस्थित नेपाली महावाणिज्य दूतावाससँग सम्पर्क गर्न सकिने व्यवस्था गरिएको छ। आपत्कालीन अवस्थामा सम्पर्क गर्न दूतावासको वेबसाइटमा उपलब्ध फोन नम्बर र इमेल ठेगानामार्फत जानकारी गराउनसमेत अनुरोध गरिएको छ।

प्रतिक्रिया दिनुहोस्