पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव, पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
काठमाडौं,फागुन १७— हाल देशमा उपल्लो वायुमण्डलमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा सामान्यदेखि पूर्ण बदली रहेको छ भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा पनि बदली देखिएको छ। अन्य प्रदेशका पहाडी भूभागमा आंशिक बदली छ।
कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपात भइरहेको छ। तराईका केही स्थानमा तुँवालो लागेको महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आइतबार दिउँसो तराईका केही स्थानमा बिहान हुस्सु लाग्नेछ भने हिमाली भूभागमा सामान्य बदली रहनेछ। पहाडी भूभागमा आंशिक बदली तथा बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहने पूर्वानुमान गरिएको छ। कोशी र गण्डकी प्रदेशका हिमाली क्षेत्रका केही स्थान तथा अन्य प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। साथै कोशी र गण्डकीका पहाडी भूभागका केही स्थानमा पनि हल्का वर्षाको सम्भावना छ।
आज राति तराईका केही स्थानमा तुँवालो रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागमा सामान्य बदली तथा केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
महाशाखाले हुस्सु, तुँवालो, वर्षा र हिमपातको पूर्वानुमान गरिएका क्षेत्रमा सतर्कता अपनाउन, विशेषगरी यातायात सञ्चालन र दैनिक गतिविधि सावधानीपूर्वक गर्न सम्बन्धित सबैमा आग्रह गरेको छ।

