सिन्धुलीमा निर्वाचन सामग्री वितरण सुरु



सिन्धुलीमाढी, फागुन १७ — यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सिन्धुलीमा खटिएका कर्मचारीहरूलाई आइतबारदेखि निर्वाचन सामग्री बुझाउन सुरु गरिएको छ।

जिल्ला निर्वाचन कार्यालय सिन्धुलीका अनुसार मतदान अधिकृत र सहायक मतदान अधिकृतहरूलाई एक दिने अभिमुखीकरण कार्यक्रम सञ्चालन गरी नियुक्तिपत्र प्रदान गरेसँगै सामग्री वितरण थालिएको हो।कार्यालयका प्रमुख ईश्वरनाथ मिश्रले ५० प्रकारका निर्वाचन सामग्री मतदान अधिकृतलाई उपलब्ध गराउन सुरु गरिएको जानकारी दिए। उनका अनुसार ४९ प्रकारका सामग्री जिल्ला निर्वाचन कार्यालयबाट वितरण गरिएको छ भने मतपत्र मुख्य निर्वाचन अधिकृतको कार्यालय सिन्धुलीले उपलब्ध गराउनेछ।

निर्वाचनमा खटिएका कर्मचारीलाई कुल ५२ प्रकारका सामग्री बुझाउनुपर्ने भए पनि यसपटक झोला र रबर म्याट नआएको कार्यालयले जनाएको छ। मतदाता नामावली, स्वस्तिक छाप, लाहा, मतपेटिकाका सुरक्षण सिल, स्टिकर, स्ट्याम्प प्याड, मसी, मतपेटिका, कपडा, कैची, मतदान निर्देशिका, स्केल, कागज, सियो, धागो, सलाई, ब्रोसरलगायत सामग्री कर्मचारीहरूले बुझेका छन्।

सामग्री वितरण कार्यक्रम सोमबारसम्म सञ्चालन हुनेछ। सदरमुकामबाट टाढा रहेका फिक्कल, गोलन्जोर, सुनकोसी, हरिहरपुरगढी र दुधौलीका मतदान केन्द्रमा खटिएका कर्मचारीलाई आइतबार र नजिकका केन्द्रमा खटिएकालाई सोमबार सामग्री बुझाइने जनाइएको छ।

जिल्लामा निर्वाचन सम्पन्न गर्न २७२ मतदान केन्द्रमा १,६३२ कर्मचारी खटाइएको छ। कमलराज विष्टका अनुसार कर्मचारीहरूले मतपेटिका, मतपत्र तथा अन्य सामग्रीसहित फागुन १८ गते बेलुकासम्म सम्बन्धित मतदान केन्द्रमा पुगिसक्नुपर्नेछ।

सिन्धुलीमा प्रतिनिधिसभा सदस्यका दुई निर्वाचन क्षेत्र रहेका छन्।निर्वाचन क्षेत्र नं. १ मा ७७ मतदानस्थल र १३८ मतदान केन्द्र तथा क्षेत्र नं. २ मा ७४ मतदानस्थल र १३४ मतदान केन्द्र रहेका छन्।

सदरमुकाममा अस्थायी दुई मतदान केन्द्र पनि स्थापना गरिएका छन्—एक कारागार कार्यालयमा र अर्को निर्वाचनमा नखटिएका सुरक्षाकर्मी तथा कर्मचारीका लागि जिल्ला हुलाक कार्यालयमा। नौ स्थानीय तह रहेको सिन्धुली जिल्लामा कुल २ लाख १५ हजार १९ मतदाता रहेका छन्। दुई निर्वाचन क्षेत्रमा छ स्वतन्त्रसहित २८ जना उम्मेदवार प्रतिस्पर्धामा रहेका छन्।

प्रतिक्रिया दिनुहोस्