इरानले खामेनी हत्यापछि ‘कडा बदला’ लिने चेतावनी
तेहरान,फागुन १७ — आयातोल्लाह अली खामेनीको हत्यापछि इरानले कडा प्रतिक्रिया जनाइरहेको छ। इरानी राष्ट्रपति मसुद पेजेस्कियानले उक्त घटनालाई ‘भयानक अपराध’ भनेका छन् र यसलाई अनुत्तरित नराख्ने चेतावनी दिएका छन्।
राष्ट्रपतिले आइतबार आफ्नो कार्यालयबाट जारी विज्ञप्तिमा सर्वोच्च नेता खामेनीको हत्यालाई इस्लामिक जगत र शिया इतिहासमा नयाँ पाना थप्ने घटना रहेको व्याख्या गरे। “यो अपराध अनुत्तरित रहन दिने छैनौँ,” उनले स्पष्ट पारेका छन्।
पेजेस्कियानले खामेनीको बलिदानले अमेरिकी र जियोनिस्ट दमन तथा अन्यायलाई उखेल्ने शक्ति दिने दाबी गरेका छन्। “उहाँको रगत गर्जिरहेको झरना जस्तै बग्नेछ र अन्यायको अन्त्यमा परिवर्तन ल्याउनेछ,” उनले भनेका छन्।
इरानले आफ्ना सम्पूर्ण शक्ति र दृढ संकल्पका साथ साथै विश्वभरका इस्लामिक राष्ट्र र स्वतन्त्र मानिसहरूको समर्थनमा हत्याका योजनाकार तथा कार्यान्वयन गर्नेहरूलाई पछुतो गराउने प्रतिज्ञा गरेको पनि विज्ञप्तिमा उल्लेख छ।
यसैबीच, घटनाको शोकमा इरानमा ४० दिनसम्म राष्ट्रिय शोक घोषणा गरिएको छ। साथै राष्ट्रपति कार्यालयले ७ दिनसम्म सार्वजनिक विदा दिने निर्णय पनि गरेको जानकारी दिएको छ।

