कराँचीमा अमेरिकी वाणिज्य दूतावास नजिक झडप, ९ जनाको मृत्यु
कराँची,फागुन १७— कराँचीको माई कोलाची रोडस्थित अमेरिकी वाणिज्य दूतावास कराँची नजिक प्रदर्शनकारी र सुरक्षाकर्मीबीच भएको झडपमा कम्तीमा नौ जनाको मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन्।
सिभिल अस्पताल कराँची (सीएचके) ट्रमा सेन्टरका कार्यकारी निर्देशक डा. मोहम्मद साबिर मेमनका अनुसार घटनामा घाइते भएका ३२ जनामध्ये मृतक तथा घाइते सबैको कारण ‘गोली’ रहेको सूचीमा उल्लेख गरिएको छ।
इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको हत्यापछि सुरु भएको विरोध प्रदर्शन उग्र बन्दै गएपछि झडप भएको जनाइएको छ। प्रदर्शनकारीलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्याँस प्रहार र लाठीचार्ज गरेको बताइएको छ।
प्रहरी शल्य चिकित्सक डा. सुमैया सैयदले सीएचकेमा ६ वटा शव ल्याइएको जानकारी दिँदै जिन्नाह पोस्टग्रेजुएट मेडिकल सेन्टर (जेपीएमसी) मा दुई घाइते प्रहरीसहित अन्यको उपचार भइरहेको बताइन्। उनका अनुसार प्रहरीमाथि ‘कडा र कुटिल उपकरण’ प्रयोग गरी आक्रमण गरिएको थियो।
यस घटनापछि सिन्धका गृहमन्त्री जियाउल हसन लन्जरले तत्काल प्रतिवेदन माग गर्दै कसैलाई पनि कानुन हातमा लिन नदिइने स्पष्ट पारेका छन्। उनले संवेदनशील क्षेत्रको सुरक्षा कडा पार्न र कानुन तथा व्यवस्था खलल पार्ने तत्त्वविरुद्ध कानुनअनुसार कडा कारबाही गरिने चेतावनी दिएका छन्।

