आचारसंहिता उल्लंघनमा ‘शून्य सहनशीलता’, उम्मेदवारी नै खारेज हुन सक्ने चेतावनी



काठमाडौं,फागुन १७ — निर्वाचन आयोगले निर्वाचन आचारसंहिता पालनामा ‘शून्य सहनशीलता’ को नीति अपनाउने चेतावनी दिएको छ।आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आचारसंहिता उल्लंघन, विशेषगरी शून्य समयमा नगद चलखेल भएको प्रमाणित भए उम्मेदवार विजयी भइसकेको अवस्थामा पनि उम्मेदवारी खारेज गरिने स्पष्ट पारे।

उनका अनुसार हालसम्म देशभरबाट करिब १ हजार १ सय आचारसंहिता उल्लंघनसम्बन्धी उजुरी दर्ता भएका छन्। तीमध्ये अधिकांशको स्थानीय स्तरमै फस्र्योट भइसकेको छ। आयोगले २५–३० वटा गम्भीर प्रकृतिका उजुरीमा केन्द्रीय स्तरबाट कारबाहीको निर्णय गरिसकेको र केही विषय अदालतमा विचाराधीन रहेको जानकारी दिइएको छ।

भण्डारीले रकम लेनदेन गरेको वा निर्वाचन सामग्रीसँगै नगद बोकेर हिँडेको प्रमाण भेटिएमा उम्मेदवारी खारेज गर्नुका साथै सम्बन्धित व्यक्तिलाई ६ वर्षसम्म निर्वाचनमा सहभागी हुन नपाउने गरी प्रतिबन्ध लगाइने चेतावनी दिए। “एउटा राजनीतिक व्यक्तिलाई राजनीतिबाट ६ वर्ष वञ्चित गरिनु सबैभन्दा ठूलो सजाय हो,” उनले भने।

निर्वाचन आयोग कुनै दबाबमा नपरी कानुनबमोजिम कार्य सम्पादन गर्न दृढ रहेको उनको दाबी छ।

प्रतिक्रिया दिनुहोस्