नुवाकोटमा १० किलोको मालासँगै चुनावी माहोल तताउँदै गगन थापा
नुवाकोट, फागुन १७ — चुनावी सरगर्मी चुलिँदै जाँदा नुवाकोटको बट्टारस्थित हावाघर आइतबार विशेष रूपमा सजिएको थियो। हेलिकप्टरको गर्जनसँगै आकाशबाट ओर्लिएका गगन थापालाई स्थानीयले १० किलो तौलको विशाल माला लगाएर भव्य स्वागत गरे।
चुनावी सभामा क्षेत्र नम्बर १ का उम्मेदवार डाक्टर प्रकाशशरण महत, क्षेत्र नम्बर २ का उम्मेदवार जगदीशनरसिंह केसी, काङ्ग्रेस नेता अर्जुन नरसिंह केसी र बहादुर सिंह लामालगायत नेताहरूले उनलाई स्वागत गरेका थिए। सभास्थलमा कार्यकर्ताको बाक्लो उपस्थिति र नाराबाजीले माहोल झनै उत्साहित बनेको थियो।
मञ्चमा उभिँदै थापाले पार्टीभित्र पारदर्शिता र उत्तरदायित्वलाई प्राथमिकता दिने प्रतिबद्धता दोहोर्याए। “अब काङ्ग्रेसका हरेक गतिविधिको महिना–महिनामा लेखाजोखा गरिनेछ,” उनले घोषणा गरे। पार्टी सञ्चालनलाई अझ व्यवस्थित र परिणाममुखी बनाउने दिशामा कदम चालिने उनले बताए।
फरक प्रसङ्गमा उनले विकास निर्माणका काममा देखिएको ढिलासुस्ती र गुणस्तरहीन प्रवृत्तिलाई अन्त्य गर्न कानुनी सुधार आवश्यक रहेको धारणा राखे। “सडक निर्माण सस्तोमा सक्ने प्रतिस्पर्धाभन्दा छिटो र गुणस्तरीय रूपमा सम्पन्न गर्ने कम्पनीलाई जिम्मा दिन मिल्ने कानुन बनाउनुपर्छ,” उनले भने।
नुवाकोटको चुनावी मैदानमा देखिएको यो उत्साहले आगामी निर्वाचनमा प्रतिस्पर्धा झनै रोचक बन्ने संकेत गरेको छ।

