नुवाकोटको पञ्चकन्यामा चुनावी झडप, दुई दलबीच तनाब
नुवाकोट, फागुन १७ — नुवाकोटको पञ्चकन्या गाउँपालिकास्थित घलेभन्ज्याङमा चुनावी प्रचारप्रसारका क्रममा दुई राजनीतिक दलका समर्थकबीच झडप भएको छ। उज्यालो नेपाल पार्टी र नेपाली कम्युनिस्ट पार्टीका समर्थकबीच भएको विवादले स्थानीय क्षेत्रमा तनाव सिर्जना गरेको हो।
उज्यालो नेपाल पार्टी पञ्चकन्या गाउँपालिकाका नेता समरसिंह तामाङले आफ्ना नेता–कार्यकर्तामाथि आक्रमण भएको आरोप लगाएका छन्। उनका अनुसार पञ्चकन्या गाउँपालिका अध्यक्ष तेजबहादुर तामाङकै नेतृत्वमा आक्रमण भएको हो।
यता गाउँपालिका अध्यक्ष तामाङले भने घटना साघुरो बाटोमा सवारी जाम हुँदा सामान्य विवादबाट सुरु भएको दाबी गरेका छन्। उनले नेकपाको दुप्चेश्वरसम्मको भेटघाट कार्यक्रम सकेर फर्कने क्रममा उज्यालो पार्टीका कार्यकर्तासँग भेट भएको र बाटो साँघुरो हुँदा आवतजावतमा समस्या उत्पन्न भई विवाद भएको बताए। “स्थानीय युवालाई झैझगडा नगर्न आग्रह गर्दा पनि केहीबेर सामन्य विवाद भयो,” उनले साझापथसंग भने।
उज्यालो नेपाल पार्टीका अनुसार घलेभन्ज्याङबाट पञ्चकन्या–५ भद्रुटार जाने मोडमा उनीहरूमाथि ढुङ्गामुढा गरिएको थियो। सो क्रममा उम्मेदवार इमानसिंह तामाङ चढ्ने गाडीको सिसा फुटाइएको र दुई वटा मोटरसाइकलका भाइजरसमेत क्षतिग्रस्त भएको दाबी गरिएको छ। केही नेता–कार्यकर्तामाथि लात्ती प्रहारसमेत भएको पार्टीले जनाएको छ।
समरसिंह तामाङका अनुसार उनीहरूसँग करिब ६०–७० जना कार्यकर्ता रहे पनि प्रतिकार नगरेको बताए। “हामी भद्रुटारतर्फ झर्दै थियौँ, माथिबाट ढुङ्गामुढा भयो। अहिले पनि लखेट्ने प्रयास भइरहेको छ,” उनले भने। उनीहरू भद्रुटार प्रहरी चौकीतर्फ गइरहेको जानकारी पनि दिएका छन्।
नुवाकोट क्षेत्र नम्बर १ मा नेकपाबाट हितबहादुर तामाङ उम्मेदवार छन् भने उज्यालो नेपाल पार्टीबाट इमानसिंह तामाङ प्रतिस्पर्धामा छन्। दुवै उम्मेदवार तामाङ समुदायका हुन्। उज्यालो नेपाल पार्टीले तामाङ बस्तीमा आफ्नो प्रभाव बढ्दै जाँदा भोट काटिने डरले आक्रमण भएको आरोप लगाएको छ।
यसअघि पनि आफ्नो प्रचारप्रसारमा अवरोध गरिएको उज्यालो नेपाल पार्टीको दाबी छ। पञ्चकन्या–४ थप्रेक क्षेत्रमा केही युवाहरू उज्यालो नेपाल पार्टीतर्फ लागेको भन्दै नेकपा आक्रोशित रहेको आरोप लगाइएको छ।
झडपका क्रममा घाइते भएका उज्यालो पार्टीका दुई जनाको काठमाडौंस्थित ग्रीन सिटी अस्पतालमा उपचार भइरहेको नुवाकोट क्षेत्र नम्बर १ र २ का निर्वाचन संयोजक नारायण समाजसेवीले जानकारी दिएका छन्।
घटनाबारे थप अनुसन्धान भइरहेको स्थानीय प्रशासनले जनाएको छ।

