आज मध्यरातदेखि मौन अवधि, उल्लंघन गरे उम्मेदवारी खारेज हुन सक्ने



काठमाडौँ, फागुन १८ — प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत फागुन २१ गते हुने मतदानका लागि सोमबार प्रचारप्रसारको अन्तिम दिन रहेको छ। राति १२ बजेदेखि मौन अवधि सुरु हुने भएपछि उम्मेदवारहरू अन्तिम भेटघाट र आन्तरिक बैठकमा केन्द्रित भएका छन्।

निर्वाचन आयोगका अनुसार मौन अवधि मतदानको ४८ घण्टाअघि सुरु भई मतदान केन्द्र बन्द नहुन्जेलसम्म कायम रहनेछ। यस अवधिमा सभा, सम्मेलन, सामाजिक सञ्जाल पोस्ट, विश्लेषण, टक सो, विज्ञापनलगायत कुनै पनि प्रकारका प्रचार गतिविधि गर्न पाइँदैन। मतदान स्थलको ३०० मिटर वरिपरिका प्रचार सामग्रीसमेत हटाउनुपर्नेछ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मौन अवधिमा आचारसंहिता उल्लंघन गरे उम्मेदवारको मनोनयन नै रद्द हुन सक्ने चेतावनी दिएका छन्। गम्भीर उल्लंघन भए ६ वर्षसम्म चुनाव लड्न नपाउने व्यवस्था रहेको उनले बताए।

आयोगले निर्वाचन क्षेत्रलाई पाँच श्रेणीमा विभाजन गरी २५ देखि ३३ लाख रुपैयाँसम्म खर्च सीमा तोकेको छ। हालसम्म करिब १,८६५ उम्मेदवारले छुट्टै बैंक खाता सञ्चालनमा ल्याएका छन्। प्रत्यक्षतर्फ ३,४०६ र समानुपातिकतर्फ करिब ३,१०० उम्मेदवार प्रतिस्पर्धामा छन्।

आयोगले मौन अवधिमा विशेष अनुगमन गर्ने जनाएको छ भने सञ्चार माध्यमलाई पनि आचारसंहिता पालना गर्न आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्