मध्यपूर्वी तनावको असर: नेपाली बजारमा सुनचाँदीको मूल्य उकालो
काठमाडौँ,फागुन १८ — मध्यपूर्वमा बढ्दो तनावका कारण अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढावले नेपाली बजारमा सुनचाँदीको मूल्य थप बढ्ने अनुमान गरिएको छ। अमेरिका र इजरायलद्वारा इरानमाथि गरिएको आक्रमण तथा इरानको प्रत्याक्रमणपछि सुनको मूल्य एकै दिन पाँच हजार रुपियाँभन्दा धेरैले उकालो लागेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार प्रतितोला तीन लाख १४ हजार ९०० रुपियाँमा कारोबार भएको सुन आइतबार पाँच हजार ६०० रुपियाँले बढेर तीन लाख २० हजार ५०० रुपियाँ पुगेको छ। अन्तर्राष्ट्रिय बजारमा भने प्रतिऔँस सुनको मूल्य ५,२८० अमेरिकी डलर पुगेको छ।
महासङ्घका उपाध्यक्ष धर्मसुन्दर वज्राचार्यले इरानमाथि भएको आक्रमण र त्यसपछिको भूराजनीतिक अस्थिरताले सुनको मूल्य अझै बढ्न सक्ने संकेत गरेको बताए। “युद्ध लम्बिँदै गए सुनको मूल्य थप उकालो लाग्ने सम्भावना छ,” उनले भने।
पछिल्लो समय सुनचाँदी सुरक्षित लगानीको क्षेत्रका रूपमा आकर्षक बन्दै जाँदा लगानीकर्ताको चासो बढेको छ। यसअघि प्रतितोला तीन लाख ३९ हजार रुपियाँसम्म पुगेको सुन घटेर दुई लाख ८६ हजार रुपियाँसम्म झरेको थियो। त्यसपछि पुनः बढ्दो क्रममा रहेकामा अन्तर्राष्ट्रिय बजारको प्रभाव सिधै स्थानीय बजारमा परेको व्यवसायीहरू बताउँछन्।
यसैबीच चाँदीको मूल्य पनि बढेको छ। शुक्रबार प्रतितोला पाँच हजार ७४० रुपियाँमा कारोबार भएको चाँदी आइतबार २४५ रुपियाँले बढेर पाँच हजार ९८५ रुपियाँ पुगेको महासङ्घले जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा प्रतिऔँस चाँदीको मूल्य ९३ अमेरिकी डलर पुगेको छ।
मूल्यवृद्धिले उपभोक्ता र व्यवसायी दुवैलाई प्रत्यक्ष असर पार्ने देखिएको छ।

