गीतकार श्रीराम राईको ‘छैन क्यारे मेरो लागि दुख्ने मुटु पनि’ सार्वजनिक
काठमाडौँ,फागुन १८ — खोटाङका गीतकार श्रीराम राईको तेस्रो गीत ‘छैन क्यारे मेरो लागि दुख्ने मुटु पनि’ सार्वजनिक भएको छ। उक्त गीत ओसियन म्युजिक नेपालको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।
एकतर्फी प्रेमको पीडा र आत्मीय शुभेच्छालाई समेटिएको गीतमा ओमप्रकाश राईको संगीत तथा पेमा शेर्पा राईको स्वर रहेको छ। सन्तोष प्रगाढ राईले एरेञ्ज, गोविन्द सोनीले मिक्सिङ–मास्टरिङ र वीरेन्द्र भाट ‘विपिन’ले सम्पादन गरेका छन्। शब्द, संगीत र स्वरको संयोजनले गीतलाई मर्मस्पर्शी बनाएको छ।
यसअघि २०७५ मा शिला खनालको स्वरमा ‘मधुमासमै मिठो साथ छुटेपछि रोएँ’ सार्वजनिक भएको थियो। २०७९ मा मनमा बी राईको स्वरमा ‘सञ्चो छौ कि विसञ्चो’ सार्वजनिक भएकोमा २०८१ मा सोही गीत नवराज पराजुलीको स्वरमा पुनः प्रस्तुत गरिएको थियो।
दिक्तेल रुपाकोट मझुवागढी–७, दोर्पा (खोटाङ) स्थायी घर भएका राई हाल काठमाडौँमा बसेर साहित्य र पत्रकारितामा सक्रिय छन्। उनले एक दशक शिक्षण अनुभवसमेत बटुलेका छन्। उनका ‘टोली नेता’ (२०७४) र ‘पोलेको मकै’ (२०७८) नामक दुई बालकथासंग्रह प्रकाशित छन्।
राई रावासावा प्राज्ञिक समाज नेपालका सचिव तथा लघुकथा समाज नेपालको खोटाङ शाखाका अध्यक्ष हुन्। ‘लघुकथा सौन्दर्य’ अभियानमार्फत लघुकथाको उन्नयनमा सक्रिय उनी ‘आजका लघुकथा’ (२०७४) र ‘संयोग’ (२०७९) सामूहिक संग्रहमा समावेश छन्।
उनकै संयोजनमा तथा विमल भौकाजीको सम्पादनमा ‘बलेँसी’ नामक सामूहिक लघुकथासंग्रह हालै प्रकाशित भएको छ। नेपाली भाषा–साहित्यमा योगदानका लागि राईले विभिन्न साहित्यिक सम्मानसमेत प्राप्त गरेका छन्।

