सुटकेशभित्र युवतीको शव भेटियो
पोखरा,फागुन १८ — पोखराको ड्यामसाइड क्षेत्रमा सुटकेशभित्र एक युवतीको शव फेला परेको छ। आइतबार पोखरा–१७ स्थित ड्यामसाइड नजिकै नयाँ बनेको पक्की पुलमुनि शंकास्पद अवस्थामा रहेको सुटकेश देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।
वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले सुटकेश खोलेर हेर्दा अन्दाजी २० देखि २५ वर्ष उमेर समूहकी युवतीको शव फेला पारेको जनाएको छ। कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक नमराज भट्टराईका अनुसार मृतकको पहिचान खुलेको छैन र घटनाबारे अनुसन्धान भइरहेको छ।
प्रहरीका अनुसार तन्नाले बेरिएको अवस्थामा शव भेटिएको हो। युवतीको घाँटीमा सामान्य चोट देखिएको प्रारम्भिक जानकारी दिइएको छ। शवलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) मा राखिएको छ।
अनुसन्धानका क्रममा ती युवती ड्यामसाइड नजिकै चितेपानी क्षेत्रमा एक महिनादेखि डेरामा बस्दै आएको खुलेको प्रहरीले जनाएको छ। एक पुरुषसँग श्रीमान्–श्रीमती बनेर जापानी भाषा सिक्ने भन्दै कोठा भाडामा लिएको प्रारम्भिक तथ्य खुलेको छ।
उक्त पुरुष हाल फरार रहेको प्रहरीले जनाएको छ। उनको आधार कार्ड भारतको सिलिगुडी क्षेत्रको देखिएको जानकारी प्रहरीले दिएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको छ।

