बस–मोटरसाइकल ठोक्किँदा दुई युवकको मृत्यु, एक किशोर घाइते
सिरहा, फागुन १८ — सिरहामा बस र मोटरसाइकल आपसमा ठोक्किँदा दुई युवकको मृत्यु भएको छ भने एक किशोर गम्भीर घाइते भएका छन्। दुर्घटना पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको गोलबजार नगरपालिका–३ जमनटोकी नजिक आइतबार राति भएको हो।
दुर्घटनामा धनगढीमाई नगरपालिका–८ का ३७ वर्षीय सन्तोष महतो र २० वर्षीय अमन रायको उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख प्रहरी निरीक्षक सुधन केसीले जानकारी दिनुभयो।
गोलबजारबाट पूर्वतर्फ जाँदै गरेको स ५ प ४७५९ नम्बरको मोटरसाइकल र धरानबाट भैरहवातर्फ आउँदै गरेको लु २ ख १०८५ नम्बरको बस आपसमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।मोटरसाइकलमा सवार तीनै जना घाइते भएका थिए।
दुर्घटनामा परी १७ वर्षीय धिरज मण्डल गम्भीर घाइते भएका छन्।उनको विराटनगरस्थित अस्पतालमा उपचार भइरहेको छ। प्रहरीका अनुसार दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ।

