स्थानीय बजारमा सुन ५ हजार ६०० रुपैयाँले बढ्यो



काठमाडौँ,फागुन १८— स्थानीय बजारमा सोमबार सुनको मूल्य उल्लेख्य रूपमा बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला तीन लाख २० हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुन सोमबार ५ हजार ६०० रुपैयाँले बढेर प्रतितोला तीन लाख २६ हजार १०० रुपैयाँ पुगेको छ।

त्यस्तै, चाँदीको मूल्य पनि सामान्य वृद्धि भएको छ। आइतबार प्रतितोला ५ हजार ९८५ रुपैयाँमा खरिदबिक्री भएको चाँदी सोमबार ३५ रुपैयाँले बढेर प्रतितोला ६ हजार २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

अन्तर्राष्ट्रिय बजारमा समेत सुनको मूल्य उकालो लागिरहेको छ। हाल प्रतिऔँस सुन करिब ५ हजार ३६२ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको बताइएको छ।

अन्तर्राष्ट्रिय बजारको उतारचढावको प्रभाव स्थानीय बजारमा प्रत्यक्ष पर्ने भएकाले आगामी दिनमा पनि मूल्यमा परिवर्तन हुन सक्ने व्यवसायीहरूको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्