मध्यरातदेखि मौन अवधि लागू हुँदै, प्रचारप्रसार पूर्ण रूपमा बन्द
काठमाडौँ — प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत राजनीतिक दल र उम्मेदवारको प्रचारप्रसारको अवधि सोमबार मध्यरातदेखि सकिँदैछ। निर्वाचन आयोगले दल तथा उम्मेदवारलाई फागुन ४ गतेदेखि आज राति १२ बजेसम्म प्रचारप्रसारको समय दिएको थियो।
मतदान हुनुभन्दा ४८ घण्टाअघि सुरु हुने मौन अवधिमा मतदान सम्पन्न नभएसम्म कुनै पनि प्रकारको प्रचारप्रसार, भाषण, भेला, छलफल, समीक्षा वा निर्वाचनलाई प्रभाव पार्ने गतिविधि गर्न पाइने छैन।आयोगका अनुसार मत माग्ने, सामाजिक सञ्जालमार्फत पोस्ट गर्ने, आर्थिक प्रलोभन दिने वा निर्वाचनलाई असर पर्ने गरी कुनै पनि गतिविधि गर्न निषेध गरिएको छ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मौन अवधिमा निर्वाचनलाई प्रभाव पार्ने गरी आर्थिक कारोबार गरिएको पाइए उम्मेदवारी खारेजीसहित ६ वर्षसम्म कुनै पनि निर्वाचनमा भाग लिन नपाउने कारबाही हुन सक्ने चेतावनी दिएका छन्।
मौन अवधिको उद्देश्य मतदातालाई शान्त र स्वच्छ वातावरणमा विवेकपूर्ण ढङ्गले मतदान गर्ने अवसर प्रदान गर्नु हो। यस अवधिमा मतदाताले प्रचारका दौरान सुनेका एजेन्डा, योजना र प्रतिबद्धताको समीक्षा गरी आफ्नो निर्णयमा पुग्ने समय पाउने अपेक्षा गरिएको छ।
पूर्वप्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाका अनुसार मौन अवधि मतदातालाई स्वतन्त्र र सुसूचित निर्णय गर्न सहयोग पुर्याउने महत्वपूर्ण समय हो।
निर्वाचन आचारसंहिताअनुसार मौन अवधि सुरु हुनुअघि मतदान केन्द्रको ३०० मिटर वरिपरि राखिएका प्रचार सामग्री हटाइसक्नुपर्ने व्यवस्था छ। यस अवधिमा एसएमएस, फेसबुक, भाइबरलगायत सामाजिक सञ्जालबाट मत माग्न वा प्रचार गर्न पाइने छैन। उम्मेदवार वा दलको पक्षमा समाचार वा सूचना प्रकाशन–प्रसारण गर्नसमेत रोक लगाइएको छ।
आयोगले निर्वाचनलाई प्रभाव पार्ने गतिविधिप्रति शून्य सहनशीलताको नीति अवलम्बन गर्ने स्पष्ट पारेको छ।

