भोलि खण्डग्रास चन्द्रग्रहण, नेपालबाट करिब एक घण्टा देखिने
काठमाडौँ, फागुन १८ — फाल्गुन शुक्ल पूर्णिमाका दिन मङ्गलबार बेलुकी नेपालबाट खण्डग्रास चन्द्रग्रहण देखिने भएको छ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार ग्रहणले दिउँसो ३ बजेर ३४ मिनेटमा स्पर्श गर्नेछ। स्पर्शका बेला खग्रास अवस्था भए पनि नेपालमा चन्द्रोदयपछि भने खण्डग्रासका रूपमा देखिने समितिका अध्यक्ष शम्भुप्रसाद ढकालले जानकारी दिनुभयो।
बेलुकी ६ बजेर ३ मिनेटमा चन्द्रोदय हुँदा ग्रहण लागेको अवस्थामै उदय हुने र ७ बजेर २ मिनेटमा ग्रहण समाप्त हुने जनाइएको छ। नेपालबाट करिब एक घण्टा उक्त ग्रहण अवलोकन गर्न सकिनेछ।
पृथ्वी, सूर्य र चन्द्रमा एउटै सरल रेखामा पर्दा पृथ्वीको छायाँ चन्द्रमामा पर्नु नै चन्द्रग्रहण हो। पृथ्वीले चन्द्रमालाई पूर्ण रूपमा ढाक्दा खग्रास र आंशिक रूपमा ढाक्दा खण्डग्रास चन्द्रग्रहण भनिन्छ। यस वर्ष नेपालबाट देखिन लागेको यो दोस्रो चन्द्रग्रहण हो। यसअघि गत भदौ २२ गते खग्रास चन्द्रग्रहण देखिएको थियो।
धर्मशास्त्रविद् तोयराज नेपालका अनुसार चन्द्रग्रहणमा तीन प्रहर (करिब नौ घण्टा) अघिदेखि सुतक लाग्ने धार्मिक मान्यता छ। सुतक अवधिमा बालबालिका, वृद्धवृद्धा र बिरामीबाहेकलाई भोजन नगर्न शास्त्रीय परम्परा रहेको उल्लेख गरिएको छ।
यसैबीच, नेपाल एस्ट्रोनोमिकल सोसाइटीले मौसम अनुकूल भए देशभरबाट ग्रहण प्रष्ट रूपमा देख्न सकिने जनाएको छ। संस्थाका अध्यक्ष सुरेश भट्टराईका अनुसार चन्द्रग्रहण अवलोकन गर्न कुनै विशेष उपकरण आवश्यक पर्दैन। घरको छत, खुला चौर वा नजिकको डाँडाबाट सहजै अवलोकन गर्न सकिने उहाँले बताउनुभयो।
वैज्ञानिक रूपमा चन्द्रमाको आफ्नै प्रकाश नभई सूर्यको प्रकाश परावर्तित हुने भएकाले पृथ्वीको छायाँ पर्दा चन्द्रमा अँध्यारो देखिने घटना नै चन्द्रग्रहण हो। पूर्णिमा र औँसीमा सूर्य, पृथ्वी र चन्द्रमा एउटै रेखामा पर्न सक्ने भए पनि चन्द्रमाको कक्षीय झुकावका कारण सबै पूर्णिमामा ग्रहण नलाग्ने खगोलविद्हरू बताउँछन् ।

