निर्वाचन सामग्री बोकेको गाडी रामेछापमा दुर्घटनाग्रस्त, उद्धार कार्य जारी



रामेछाप,फागुन १८ — निर्वाचन सामग्री तथा कर्मचारी लिएर मतदान केन्द्रतर्फ जाँदै गरेको गाडी रामेछापमा दुर्घटनामा परेको छ।

प्रारम्भिक जानकारीअनुसार रामेछाप नगरपालिका–२ स्थित वडा कार्यालय नजिकैको स्वामीडाँडा भिरबाट गाडी तल खसेको हो। भिरालो तथा अप्ठेरो सडक खण्डमा गाडी अनियन्त्रित भई दुर्घटना भएको अनुमान गरिएको छ।

दुर्घटनामा परेको सवारी साधन वडा नं. २ स्थित शीतलादेवी मतदान केन्द्र र वडा नं. ३ स्थित साघुटार वडा कार्यालय मतदान केन्द्रका लागि मतपेटिकासहित आवश्यक निर्वाचन सामग्री तथा कर्मचारी लिएर जाँदै गरेको जनाइएको छ। गाडीमा सुरक्षाकर्मी र कर्मचारी गरी करिब ५ देखि ७ जना सवार रहेको प्रारम्भिक सूचना प्राप्त भएको छ।

जिल्ला प्रहरी कार्यालय, रामेछापका प्रहरी निरीक्षक राजनप्रसाद तिम्सिनाले दुर्घटनाबारे जानकारी आएको पुष्टि गर्दै घटनास्थलतर्फ प्रहरी टोली परिचालन गरिएको बताउनुभयो।

दुर्घटनास्थल दुर्गम र भिरालो भएकाले उद्धार कार्यमा कठिनाइ भइरहेको स्थानीयले बताएका छन्। हालसम्म मानवीय तथा भौतिक क्षतिको यकिन विवरण प्राप्त हुन सकेको छैन।

दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्