रामेछापमा निर्वाचन सामग्री बोकेको गाडी दुर्घटना, एक सुरक्षाकर्मीको मृत्यु



रामेछाप, फागुन १८ — रामेछापमा निर्वाचन सामग्री तथा कर्मचारी लिएर जाँदै गरेको गाडी दुर्घटना हुँदा एक जना सुरक्षाकर्मीको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्। सोमबार अपराह्न भएको दुर्घटनामा तीन जना गाडीबाट हाम फालेर ज्यान जोगाउन सफल भएका छन्।

दुर्घटनामा नेपाल प्रहरीका असई आरपी यादवको घटनास्थलमै मृत्यु भएको मतदान अधिकृत रवीराज खड्काले जानकारी दिएका छन्। यादवको स्थायी ठेगाना भने खुल्न सकेको छैन। खड्काका अनुसार उनीसहित तीन जना गाडीबाट हाम फालेर बाँच्न सफल भएका हुन्।

रामेछाप नगरपालिका–२ स्थित वडा कार्यालय नजिकैको स्वामीडाँडा भिरबाट गाडी खसेको बताइएको छ। दुर्घटनाग्रस्त सवारी साधन वडा नं. २ स्थित शीतलादेवी माध्यमिक विद्यालय मतदान केन्द्र तथा वडा नं. ३ स्थित साघुटार वडा कार्यालय मतदान केन्द्रका लागि निर्वाचन सामग्री र कर्मचारी लिएर जाँदै गरेको जनाइएको छ।

जिल्ला प्रहरी कार्यालय, रामेछापका प्रहरी निरीक्षक राजनप्रसाद तिम्सिनाले घटनाको पुष्टि गर्दै विस्तृत विवरण संकलन भइरहेको जानकारी दिएका छन्।

घटनास्थल भिरालो र दुर्गम रहेकाले उद्धार कार्यमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनाग्रस्त गाडीको नम्बरसमेत यकिन हुन बाँकी रहेको छ भने थप अनुसन्धान जारी रहेको छ।

प्रतिक्रिया दिनुहोस्