सुरक्षा व्यवस्था चुस्त, ढुक्क भएर मतदान गर्नुस् : गृहमन्त्री अर्याल
काठमाडौँ, फागुन १८ — गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सुरक्षा व्यवस्था चुस्त र भरपर्दो बनाइएको बताएका छन्।
निषेध (मौन) अवधि सुरु हुनुअघि निर्वाचन आयोगको कार्यालय बहादुर भवनमा आयोजित छलफलमा मन्त्री अर्यालले निर्वाचन सुरक्षालाई प्रभावकारी बनाउन सबै सुरक्षा निकाय र सरोकारवाला संस्थाबीच समन्वय सुदृढ गरिएको बताए। उनले मतदातालाई ढुक्क भएर मतदानमा सहभागी हुन आग्रह गरे।
कार्यक्रममा गृहमन्त्री अर्याल र कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीबीच निर्वाचनको समग्र तयारी, सुरक्षा व्यवस्थापन, आचारसंहिताको पालना तथा कार्यान्वयनबारे छलफल भएको थियो।कार्यवाहक प्रमुख आयुक्त भण्डारीले मौन अवधिमा आचारसंहिताको कडाइका साथ परिपालना गराइने र सूक्ष्म रूपमा अनुगमन गरिने जानकारी दिए। उनले आचारसंहिता उल्लङ्घन गर्ने जो–कोहीलाई कानुनअनुसार कारबाही गरिने स्पष्ट पारे।
निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सरकार र आयोगबीच निरन्तर समन्वय भइरहेको जनाइएको छ।

