रामेछाप ट्रक दुर्घटना : मृतक संख्या २ पुग्यो, घाइतेलाई हेलिकप्टरमार्फत काठमाडौं पठाइयो



रामेछाप,फागुन १८ — निर्वाचन सामग्री तथा कर्मचारी लिएर गइरहेको ट्रक दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या २ पुगेको छ। घाइते अवस्थामा सदरमुकाम मन्थलीस्थित अस्पताल ल्याइएका थप एक जनाको उपचारका क्रममा मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ।

मृत्यु हुनेमा डोरप्रसाद घिमिरे रहेका छन्। उनी रामेछाप नगरपालिका–२ साँघुटार वडा कार्यालय भवन ‘ख’ मतदान केन्द्रका मतदान अधिकृत थिए। घिमिरे मन्थली नगरपालिका–७ स्थित रुद्राक्षेश्वर माध्यमिक विद्यालयका शिक्षकसमेत रहेको बताइएको छ। यसअघि दुर्घटनास्थलमै नेपाल प्रहरीका असई पर्शुराम यादवको मृत्यु भएको थियो।

सोमबार अपराह्न ना ४ ख ६७६८ नम्बरको निशान ट्रक रामेछाप नगरपालिका–२ स्थित वडा कार्यालय नजिकैको सिरुवारी भिरबाट खसेको थियो। ट्रकमा निर्वाचन सामग्री तथा कर्मचारी सवार थिए।दुर्घटनामा ६ जना घाइते भएका थिए भने ३ जना गाडीबाट हाम फालेर ज्यान जोगाउन सफल भएका थिए।

रामेछाप नगरपालिका–२ स्थित शीतलादेवी माध्यमिक विद्यालय मतदान केन्द्रका मतदान अधिकृत रवीराज खड्काका अनुसार उनीसहित तीन जना हाम फालेर बाँच्न सफल भएका हुन्। जिल्ला प्रहरी कार्यालय, रामेछापका प्रहरी निरीक्षक राजनप्रसाद तिम्सिनाका अनुसार दुर्घटनामा घाइते भएका २ पुरुष र ३ महिलालाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं पठाइएको छ।दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्