रामेछापमा निर्वाचन गाडी दुर्घटना अपडेट : मतदान अधिकृतसहित २ जनाको मृत्यु, ७ घाइते
रामेछाप,फागुन १८ — निर्वाचन सामग्री, कर्मचारी तथा सुरक्षाकर्मी बोकेको निशान गाडी दुर्घटना हुँदा रामेछापमा एक मतदान अधिकृतसहित दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्।
मुख्य निर्वाचन अधिकृत कार्यालय मन्थलीबाट रामेछाप नगरपालिका–२ स्थित सिरुवारीको शीतलादेवी माध्यमिक विद्यालय र वडा नं. ३ को वडा कार्यालय भवन साँघुटारस्थित मतदान केन्द्रका लागि मतपत्र तथा अन्य निर्वाचन सामग्री लिएर गएको ना ७ ख ६७६८ नम्बरको निशान गाडी सडकमा मोड नपुगी ब्याक गर्ने क्रममा अनियन्त्रित भई करिब १०० मिटर तल खस्दा दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा रामेछाप नगरपालिका–३ साँघुटारस्थित ‘ख’ मतदान केन्द्रमा मतदान अधिकृतका रूपमा खटिएका मन्थली नगरपालिका–१ भैँसेश्वरका ५७ वर्षीय डोरप्रसाद घिमिरेको मन्थली अस्पतालमा उपचारका क्रममा सोमबार साँझ पौने ६ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, रामेछापले जनाएको छ।
त्यसैगरी सप्तरीको रुपनी गाउँपालिका–१ घर भई सोही कार्यालयमा कार्यरत प्रहरी सहायक निरीक्षक परशुराम यादवको पनि घटनास्थलमै मृत्यु भएको पुष्टि गरिएको छ।
दुर्घटनामा घाइते भएका तीन महिला र चार पुरुष गरी सात जनालाई थप उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौँ पठाइएको प्रहरी निरीक्षक राजनप्रसाद तिम्सिनाले जानकारी दिए। उनका अनुसार पाँच जना गम्भीर र दुई जना सामान्य घाइते भएका छन्।
गम्भीर घाइते हुनेहरूमा सिरुवारीस्थित ‘क’ मतदान केन्द्रका मतदान अधिकृत कृष्णप्रसाद घिमिरे, पूजादेवी सुनुवार, गाडी चालक शम्भुबहादुर मानन्धर, दुर्गा कार्की, भीमबहादुर मानन्धर र केदारकुमार रोक्का रहेका छन्।
सामान्य घाइते हुनेमा सबिना खड्का र कमला ढुङ्गेल खत्री रहेका छन्। घाइते सबैको काठमाडौँस्थित आर्मी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
दुर्घटनाको विस्तृत अनुसन्धान भइरहेको जनाइएको छ।

