मध्यपूर्व तनावग्रस्त : युएईमा एक नेपालीको मृत्यु, लाखौँ नेपाली त्रासमा



काठमाडौँ, फागुन १९ — अमेरिका र इजरायलको संयुक्त आक्रमणपछि इरानले प्रत्याक्रमण तीव्र बनाएसँगै मध्यपूर्व क्षेत्र युद्धको चपेटामा परेको छ। आक्रमण–प्रत्याक्रमणका बीच संयुक्त अरब इमिरेट्स (युएई) मा एक नेपालीको मृत्यु भएको पुष्टि भएको छ।

अबुधाबीमा भएको मिसाइल आक्रमणमा गोरखाका २९ वर्षीय दिवस श्रेष्ठको मृत्यु भएको नेपाली दूतावासले जनाएको छ। घटनामा अन्य विदेशी नागरिकसहित दर्जनौँ घाइते भएका छन्। परराष्ट्र मन्त्रालय, नेपालले घटनाप्रति दुःख व्यक्त गर्दै मृतकको शव स्वदेश ल्याउन पहल गर्ने जनाएको छ।

तनावका कारण युएई, कतार, बहराइन, कुवेत, ओमान, साउदी अरब र इजरायललगायत देशमा कार्यरत नेपाली नागरिकमा त्रास फैलिएको छ। ती क्षेत्रमा करिब १७ लाखभन्दा बढी नेपाली रोजगारीमा रहेका छन्।कतिपय देशमा विद्यालय बन्द गरिएका छन् भने सरकारी निकायले सतर्कता अपनाउन निर्देशन दिएका छन्। नेपाली दूतावासहरूले सम्बन्धित देशमा रहेका नागरिकलाई सम्पर्कमा रहन र आधिकारिक सूचनामात्र पछ्याउन आग्रह गरेका छन्।

हालसम्म अधिकांश नेपाली सुरक्षित रहेको जनाइएको छ भने सम्भावित उद्धार र सहायताका लागि तयारी अवस्थामा रहेको दूतावासहरूले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्