विभिन्न जिल्लामा निर्वाचनको तयारी अन्तिम चरणमा
जुम्ला,फागुन १९ । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जुम्लाको निर्वाचन तयारी अन्तिम चरणमा पुगेको छ । जिल्ला निर्वाचन कार्यालयबाट निर्वाचनमा आवश्यक पर्ने सबै निर्वाचन सामाग्री लिएर मतदान केन्द्रमा खटिएका कर्मचारी पुगिसकेका जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी दिपेन्द्र कँडेलले जानकारी दिनुभयो ।
जिल्लाका ११० वटा मतदान केन्द्रमा सोमबार साँझसम्म मतपत्र, मतपेटिकालगायत निर्वाचन सामग्री लिएर मतदान अधिकृतको नेतृत्वमा खटिएका सबै कर्मचारी र सुरक्षाकर्मी पुगिसकेका कार्यालयका सहायक निर्वाचन अधिकृत हरिकृष्ण तिमिल्सेनाले जानकारी दिनुभयो ।
यसैबीच, निर्वाचनका लागि आवश्यक पर्ने मतपत्र मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट र अन्य ५१ प्रकारका सामाग्री जिल्ला निर्वाचन कार्यालयबाट मतदान अधिकृतलाई बुझाइएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । जिल्लाभर ११० मतदान केन्द्र र ८५ वटा मतदानस्थल कायम गरिएका छन् भने ६५४ जना कर्मचारी निर्वाचनका लागि परिचालन भएका छन् । जिल्लामा कुल मतदाता ७१ हजार ७३९ जना रहेका निर्वाचन कार्यालयले जनाएको छ ।
सुरक्षा विश्लेषणका आधारमा मतदानस्थलको सुरक्षा प्रबन्धलाई चुस्त र प्रभावकारी बनाइएको छ । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागको जनशक्ति निर्वाचनको सुरक्षामा खटिने प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले बताउनुभयो ।
उहाँका अनुसार एकीकृत निर्वाचन सुरक्षा योजनाबमोजिम नेपाल प्रहरी मतदानस्थलको भित्री घेराको सुरक्षामा खटिनेछन् । निर्वाचन प्रहरी पहिलो तहको सुरक्षा घेरामा, दोस्रो तहको सुरक्षा घेरामा सशस्त्र प्रहरी बल र सुरक्षा घेराको बाहिरी तहबाट नेपाली सेनाले सुरक्षा प्रदान गर्नेछन् ।
बागलुङमा मतदानस्थलमा खटिए कर्मचारी
बागलुङमा निर्वाचनमा खटिने कर्मचारी तथा सुरक्षाकर्मी निर्वाचन सामग्री बुझेर मतदान केन्द्रमा पुगेका छन् । दुई निर्वाचन क्षेत्र रहेको बागलुङमा १०७ मतदातस्थलमा निर्वाचन सामग्रीसहित कर्मचारी र सुरक्षाकर्मी खटिएका मुख्य निर्वाचन अधिकृतको कार्यालयका प्रमुख सीता शर्मा अधिकारीले जानकारी दिनुभयो ।
उहाँका अनुसार मतदान अधिकृत, सहायक मतदान अधिकृत र अन्य कर्मचारी, सुरक्षाकर्मीको टोलीसहित निर्वाचन सामग्री एकसाथ पठाइएको हो । सोमबार साँझसम्म सबै मदनास्थलमा कर्मचारी पुगिसकेका जनाउँदै उहाँले निर्वाचन क्षेत्र नं १ मा ११५ मतदान केन्द्र र २ मा ११५ केन्द्र तोकिएको बताउनुभयो । यहाँ दुई अस्थायी मतदान केन्द्र पनि कायम गरिएको उहाँको भनाइ छ । बागलुङमा एक लाख ९३ हजार ३८१ जना मतदाता छन् ।
मुस्ताङमा पनि सबै तयारी पूरा
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हिमाली जिल्ला मुस्ताङमा सबै तयारी पूरा भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचनमा खटिने कर्मचारीलाई ५१ प्रकारका निर्वाचन सामाग्रीसहित सम्बन्धित निर्वाचन केन्द्रमा खटाइसकेको हो । माथिल्लो र तल्लो मुस्ताङसहित ३९ वटा मतदान केन्द्रका लागि कर्मचारी खटिएका मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक मतदान अधिकृत दिपेन्द्र पौडेलले जानकारी दिनुभयो ।
यसैबीच मुस्ताङका ३९ वटै मतदान केन्द्रमा सडकको पहुँच पुगेकाले मतदान कार्यक्रम र निर्वाचन सुरक्षाका लागि कुनै किसिमको असहजता नहुने जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष बस्यालले जानकारी दिनुभयो । सोमबारदेखि हिमपात रोकिएपछि अवरुद्ध साङ्ता मतदान केन्द्रको सडक पनि सञ्चालन भएकाले मतदान तथा मतपेटिका सदरमुकाम ढुवानी गर्नमा समस्या नरहने उहाँले बताउनुभयो ।
त्यसैगरी, रौतहटका चारवटै निर्वाचन कार्यालयले वितरण गरेका निर्वाचन समाग्री जिल्लाभरिका मतदान केन्द्रमा पुगेका छन् । जिल्ला निर्वाचन कार्यालयका प्रमुख छोटेलाल दासका अनुसार रौतहटका चारवटा निर्वाचन क्षेत्रका ५४१ वटा मतदान केन्द्रमा मतपत्र, मतदान गर्ने बाक्सासहित सम्पूर्ण समाग्री पुगेका हुन् ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार रौटहटमा तीन हजार २४६ जना कर्मचारी निर्वाचनमा खटिएका छन् । यहाँ २७७ वटा मतदानस्थल तोकिएका छन् । यहाँ चार लाख ३६ हजार ६११ जना मतदाता छन् ।
त्यस्तै, मोरङका छवटै निर्वाचन क्षेत्रमा मतपत्र, मतपेटिकासहितका निर्वाचन सामग्री पुगिसकेका छन् । मोरङका ३०६ मतदानस्थलका ८८८ मतदान केन्द्रमा निर्वाचनका लागि कर्मचारी खटिएका प्रदेश निर्वाचन कार्यालय विराटनगरका प्रमुख चोलाराज दङ्गालले जानकारी दिनुभयो ।
जिल्ला कारागार मोरङ र आदर्श पुस्तकालयमा रहने अस्थायी मतदान केन्द्रका लागि छुट्टै कर्मचारीको प्रबन्ध गरिएको प्रदेश निर्वाचन अधिकारी दङ्गालले बताउनुभयो । उहाँले भन्नुभयो, “तारजाली घेरेर, सिसीटिभी राखेर मतगणनाको लागि तयारी सुरु गरिएको छ ।”
भोजपुरका १६१ मतदान केन्द्रमा ९६० जना कर्मचारी खटिए
प्रतिनिधिसभा सदस्य निर्वाचनलाई व्यवस्थित, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गराउन भोजपुर जिल्लामा ९६० जना कर्मचारी परिचालन गरिएको छ । जिल्ला निर्वाचन कार्यालयका प्रमुख डिकेन्द्र सुवेदीका अनुसार अस्थायी र स्थानीय गरी १६१ मतदान केन्द्र कायम गरिएका छन् । तीमध्ये १५९ मतदान केन्द्रमा मतदान अधिकृत र सहायक मतदान अधिकृतसहित प्रतिकेन्द्र छ जनाका दरले कर्मचारी खटाइएको छ ।
त्यस्तै दुई अस्थायी मतदान केन्द्रमा मतदान अधिकृत र सहायक मतदान अधिकृतसहित प्रतिकेन्द्र तीन जनाका दरले कर्मचारी परिचालन गरिएको उहाँले जानकारी दिनुभयो । खटिएका कर्मचारी तोकिएका स्थानमा जाने काम भइरहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । मतदान प्रक्रिया, मतपेटिका व्यवस्थापन, मतदाता पहिचान, मतगणनालगायत विषयमा कर्मचारीलाई स्पष्ट निर्देशन दिइएको कार्यालयले जनाएको छ ।
यसैबीच, निर्वाचनलाई लक्षित गरेर यहाँ मदिरा बिक्री वितरणमा रोक लगाइएको छ । निर्वाचनलाई स्वच्छ, निष्पक्ष तथा भयरहित वातावरणमा सम्पन्न गराउन फागुन २२ गतेसम्म मदिरा बिक्रीवितरण निषेध गरिएको प्रमुख जिल्ला अधिकारी राजन पौडेलले जानकारी दिनुभयो ।

