प्रतिनिधिसभा निर्वाचन : कोरला नाका ७२ घण्टा बन्द, सुरक्षा कडाइ



मुस्ताङ,फागुन १९ — यही फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै चीनसँग सीमा जोडिएको कोरला नाका सोमबार मध्यरात १२ बजेदेखि बन्द गरिएको छ।

मतदानभन्दा ७२ घण्टा अगाडि अन्तर्राष्ट्रिय नाका बन्द गर्नुपर्ने नियमअनुसार जिल्ला प्रशासन कार्यालय, मुस्ताङले नाका क्षेत्र पूर्णरूपमा बन्द गरी एकीकृत सुरक्षा योजना लागू गरेको हो।

उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकामा रहेको नेपाल–चीन २४ नम्बरको कोरला नाका फागुन १८ गते राति १२ बजेदेखि २१ गते राति १२ बजेसम्म बन्द रहने सहायक प्रमुख जिल्ला अधिकारी एकनारायण भण्डारीले जानकारी दिए।

कोरला नाकादेखि करिब १४ किलोमिटर तल रहेको भन्सार कार्यालयसम्मको सडक खण्डमा सवारीसाधनमार्फत हुने ढुवानीलगायत गतिविधिमा निगरानी कडा पारिएको छ। स्वतन्त्र, स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सीमा क्षेत्रमा स्थानीयलाई आवतजावत नगर्न अनुरोध गरिएको प्रशासनले जनाएको छ।

समुद्री सतहदेखि ४ हजार ६ सय ५० मिटर उचाइमा अवस्थित कोरला क्षेत्रका स्थानीयसमेत उक्त अवधिमा बस्तीमा झर्ने भएका छन्। निर्वाचन सुरक्षाका लागि नेपाली सेनाको इन्द्र बक्स गण, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले संयुक्त रूपमा गस्ती तथा निगरानी बढाएका छन्।

सदरमुकाम जोमसोम–कोरला ११० किमी सडक तथा बेनी–जोमसोम सडकखण्डसहित जिल्लाभर अत्यावश्यक सेवाबाहेक सवारीसाधन सञ्चालनसमेत बन्द गरिने प्रशासनले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्