मतदानका गर्न ६ प्रकारका परिचयपत्रबाट पाइने



काठमाडौँ, फागुन १९ — निर्वाचन आयोगले आगामी निर्वाचनमा ६ किसिमका परिचयपत्रमार्फत मतदान गर्न सकिने व्यवस्था गरेको जनाएको छ।

निर्वाचन आयोग, नेपालका सूचना अधिकारी सुमन घिमिरेका अनुसार मतदाता नामावलीमा नाम भएको मतदान केन्द्रमा मतदाता परिचयपत्र देखाएर भोट हाल्न सकिनेछ। मतदाता परिचयपत्र नभएको अवस्थामा नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, सवारीचालक अनुमतिपत्र वा जग्गाधनी प्रमाणपत्र (लालपूर्जा) मध्ये कुनै एक कागजातका आधारमा पनि मतदान गर्न पाइनेछ।

आयोगले मतदातालाई आफ्नो परिचय खुल्ने कागजात साथमा लिएर निर्धारित समयमा आफ्नै मतदान केन्द्रमा उपस्थित हुन आग्रह गरेको छ। मतदानको समय बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म तोकिएको छ।

मतदान केन्द्रमा महिला र पुरुषका लागि छुट्टाछुट्टै लाइनको व्यवस्था गरिएको छ। सम्बन्धित लाइनमा बसेर पालोअनुसार मतदान गर्नुपर्नेछ।
शारीरिक रूपमा अशक्त व्यक्ति, ज्येष्ठ नागरिक, गर्भवती तथा सुत्केरी महिला र आफैँले मतदान गर्न कठिनाइ हुने व्यक्तिहरूका लागि विशेष सहजीकरणको व्यवस्था गरिएको आयोगले जनाएको छ।

यस्ता मतदाताले मतदान अधिकृत, सहायक मतदान अधिकृत, कर्मचारी वा स्वयंसेवकबाट सहयोग लिन सक्नेछन्। आयोगले सबै मतदान केन्द्रमा विशेष आवश्यकता भएका मतदातालाई सहज र सम्मानजनक वातावरणमा मतदान गराउन निर्देशन दिएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्