शनिबारसम्म मौसम सामान्यतः सफा रहने



काठमाडौँ, फागुन १९ — जल तथा मौसम विज्ञान विभागले देशभर आगामी शनिबारसम्म मौसम सामान्यतः सफा रहने जनाएको छ।

विभागका वरिष्ठ मौसमविद् वरुण पौडेलका अनुसार मंगलबार केही पहाडी भूभागमा आंशिक बदली देखिए पनि वर्षाको सम्भावना नरहेको छ। “शनिबारसम्मको मौसम सामान्यतः सफा नै छ। आज पहाडी भूभागमा केही बादल लागेको छ, तर वर्षा भएको छैन,” उनले भने।

यद्यपि कोशी प्रदेशका ताप्लेजुङ र संखुवासभा तथा गण्डकी प्रदेशको कास्की जिल्लाका एक–दुई स्थानमा छिटपुट वर्षा हुन सक्ने सम्भावना रहेको उनले जानकारी दिए। तर ती जिल्लाभर नै वर्षा हुने अवस्था नरहेको स्पष्ट पारे।

बुधबार पनि केही पहाडी क्षेत्रमा हल्का बदली रहने सम्भावना भए पनि उल्लेखनीय मौसमी जोखिम नदेखिएको पौडेलले बताए। गर्मीयाम सुरु भएसँगै दिउँसो तापक्रम बढ्ने र बेलुकातिर पहाडी क्षेत्रमा बादल विकसित भई छिटपुट वर्षा हुन सक्ने मौसमी प्रवृत्ति देखिन सक्ने भए पनि यस साताभर वर्षा तथा हिमपातको सम्भावना नरहेको उनले बताए।

मौसमी गतिविधिका कारण मतदान प्रक्रियामा कुनै असर नपर्ने पनि विभागले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्