मतदान अधिकृतको मृत्यु



सर्लाही,फागुन १९— सर्लाहीमा एक मतदान अधिकृतको मृत्यु भएको छ। पर्सा गाउँपालिका–४ स्थित जिगडवा आधारभूत विद्यालयको मतदान केन्द्र ‘क’मा मतदान अधिकृतका रूपमा खटिएका ४५ वर्षीय रघुनाथ महतोको मंगलबार निधन भएको हो।

मंगलबार दिउँसो अचानक बेहोश भएपछि उनलाई उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको थियो। उपचारकै क्रममा दिउँसो करिब ३ बजे चिकित्सकले मृत घोषणा गरेको सर्लाहीका मुख्य निर्वाचन अधिकृत पुष्पराज थपलियाले जानकारी दिए।

चिकित्सकहरूका अनुसार पोस्टमार्टमपछि मात्र मृत्युको कारण खुल्नेछ। महतोको शव हाल प्रादेशिक अस्पताल मलंगवामै राखिएको छ।

रौतहट घर भएका महतो सर्लाहीको बरहथवा नगरपालिका–५ स्थित आधारभूत स्वास्थ्य केन्द्र बरहथवामा सिनियर अहेबका रूपमा कार्यरत थिए ।

प्रतिक्रिया दिनुहोस्