निर्वाचनमा खटिने कर्मचारीलाई आचारसंहिता पालना गर्न आयोगको निर्देशन



काठमाडौँ, फागुन १९ — निर्वाचनमा खटिने कर्मचारीले आफ्नो सेवा समूहसम्बन्धी कानुनमा उल्लेखित आचरणका अतिरिक्त निर्वाचन आचारसंहिता, २०८२ मा व्यवस्था गरिएका प्रावधानसमेत अनिवार्य रूपमा पालना गर्नुपर्ने निर्वाचन आयोग, नेपालले जनाएको छ।

आयोगद्वारा जारी निर्वाचन आचारसंहिता, २०८२ अनुसार कुनै कर्मचारीले उम्मेदवार वा राजनीतिक दलको पक्ष वा विपक्षमा प्रचारप्रसार गर्न नपाउने व्यवस्था गरिएको छ।

आचारसंहितामा निर्वाचनमा संलग्न कर्मचारी तथा सुरक्षाकर्मीले आफ्नो पदीय कर्तव्य तथ्यपरक र निष्पक्ष रूपमा निर्वाह गर्नुपर्ने उल्लेख छ। साथै, निर्वाचन अवधिभर मुलुकको प्रतिनिधित्व हुने गरी विदेश भ्रमणमा जानुपर्ने अवस्थामा बाहेक अन्य प्रयोजनका लागि नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तहका कर्मचारी वा सार्वजनिक पद धारण गरेको व्यक्ति आयोगको पूर्वस्वीकृतिविना विदेश भ्रमणमा जान वा पठाउन नहुने प्रावधान राखिएको छ।

यसैगरी, उम्मेदवार, राजनीतिक दल वा तिनका भ्रातृ संगठन तथा सम्बन्धित व्यक्तिलाई सरकारी भवन, अतिथि गृह, सभागृह, सवारी साधन वा अन्य सरकारी स्रोत–साधन प्रयोग गर्न दिन नहुने पनि आयोगले स्पष्ट पारेको छ।

प्रतिक्रिया दिनुहोस्