भ्रामक सामग्रीविरुद्ध सचेत रहन गगन थापाको अपिल



काठमाडौँ,फागुन १९— नेपाली कांग्रेसका सभापति गगन थापाले सामाजिक सञ्जालमा फैलाइँदै आएका भ्रामक सामग्रीविरुद्ध सचेत रहन अपिल गरेका छन्।

मंगलबार साँझ फेसबुकमार्फत उनले निर्वाचन नजिकिँदै जाँदा मौन अवधिमा समेत आफू तथा नेपाली कांग्रेसका उम्मेदवारहरूविरुद्ध असत्य सूचना, बनावटी कथा र हेरफेर गरिएका भिडियोहरू सुनियोजित रूपमा फैलाइएको उल्लेख गरेका छन्। उनले यस्तो गतिविधि निर्वाचन आचारसंहिताको उल्लङ्घन मात्र नभई लोकतान्त्रिक संस्कारमाथिको आक्रमण भएको बताएका छन्।

थापाले सामाजिक सञ्जाल प्रयोगकर्तालाई फेक सामग्री देखिएमा फेसबुक, टिकटक, युट्युबलगायत प्लेटफर्ममा तुरुन्तै ‘रिपोर्ट’ गर्न आग्रह गरेका छन्। साथै कुनै पनि सामग्री शेयर गर्नुअघि सत्यता जाँच्न र अत्यधिक सनसनीपूर्ण वा भडकाउ सामग्रीप्रति सजग रहन सुझाव दिएका छन्।

“सत्य र विवेकले मात्र भ्रमलाई परास्त गर्न सक्छ,” भन्दै उनले सचेत र जिम्मेवार नागरिकको भूमिकामा उभिन सबैलाई आह्वान गरेका छन्।

प्रतिक्रिया दिनुहोस्