मौन अवधिमा आयोगको सूक्ष्म निगरानी, उल्लङ्घन गरे उम्मेदवारी रद्द हुने चेतावनी
काठमाडौँ,फागुन २०— प्रतिनिधि सभा निर्वाचन २०८२ का लागि तोकिएको मौन अवधिमा निर्वाचन आयोग, नेपालले सूक्ष्म निगरानी सुरु गरेको छ।
सोमबार राति १२ बजेदेखि लागू भएको मौन अवधिलाई प्रभावकारी बनाउन आयोगले सम्बन्धित जिल्लाका निर्वाचन अधिकृत तथा मातहतका कर्मचारीलाई निर्देशन दिइसकेको जनाएको छ।
जिल्लास्तरबाट निरन्तर अनुगमन भइरहेको आयोगले स्पष्ट पारेको छ।कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मौन अवधिमा आचारसंहिताको पूर्ण पालना गर्न सबै सरोकारवाला निकायलाई आग्रह गरेका छन्। उनले राजनीतिक दलहरूलाई एकअर्काको गतिविधिमा समेत निगरानी राख्दै मौन अवधिमा गर्न नहुने कार्य रोक्न सहयोग गर्न अपिल गरेका छन्।
मौन अवधिमा तोकिएको आचरणविपरीत कुनै उम्मेदवार वा राजनीतिक दलले गतिविधि गरेमा सम्बन्धित उम्मेदवारको मनोनयन नै रद्द गरिने चेतावनी पनि आयोगले दिएको छ। आयोगद्वारा जारी प्रतिनिधि सभा निर्वाचन आचारसंहिता, २०८२ अनुसार यस अवधिमा कुनै पनि प्रकारको प्रचारप्रसार, सभा–सम्मेलन, अन्तर्क्रिया, गोष्ठी वा छलफल गर्न पाइँदैन।
भण्डारीका अनुसार मौन अवधिमा उम्मेदवारले प्रचारमा संलग्न नहुई मतदातासमक्ष गरेका प्रतिबद्धता कसरी कार्यान्वयन गर्ने भन्ने योजना बनाउने तथा अघिल्लो प्रचारप्रसारको समीक्षा गर्ने समयका रूपमा सदुपयोग गर्नुपर्नेछ।
मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदान केन्द्र बन्द नहुन्जेलसम्म मौन अवधि लागू रहने व्यवस्था छ। यस अवधिमा मतदान स्थलको तीन सय मिटर वरिपरि राखिएका प्रचार सामग्री हटाउनुपर्ने तथा कुनै पनि माध्यमबाट मत माग्न नहुने प्रावधान छ।
आयोगले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रयोग गरी वा नगरी सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य माध्यमबाट दल वा उम्मेदवारको पक्ष–विपक्षमा सामग्री पोस्ट, सेयर वा प्रतिक्रिया दिन पनि नपाइने जनाएको छ। साथै सञ्चार प्रतिष्ठान, सम्बद्ध कर्मचारी तथा पत्रकारले समेत मौन अवधिमा पालना गर्नुपर्ने आचरण तोकिएको आयोगले जनाएको छ।

