कर्णालीका दुर्गम केन्द्रमा हेलिकोप्टरबाट निर्वाचन सामग्री, मतदाता हिउँ छिचोल्दै मतदानमा
सुर्खेत, फागुन २० — कर्णालीका हिमाली जिल्ला हुम्ला र डोल्पाका २४ वटा निर्वाचन स्थलमा प्रतिनिधि सभा सदस्य निर्वाचनका सामग्री नेपाली सेनाको हेलिकोप्टरमार्फत ढुवानी गरिएको छ।
नेपाली सेनाको उत्तर–पश्चिम पृतनाका अनुसार तीन दिन लगाएर डोल्पाका २० र हुम्लाका चार मतदान स्थलमा सामग्री पुर्याइएको हो।हेलिकोप्टरबाट निर्वाचन सामग्रीसँगै कर्मचारी र सुरक्षाकर्मीसमेत खटिएका छन्।
डोल्पाको डोल्पोबुद्ध गाउँपालिकाका ६, शे–फोक्सुण्डो गाउँपालिकाका ८ र छार्का तोङसोङ गाउँपालिकाका ६ गरी २० मतदान स्थलमा शनिबारदेखि मंगलबारसम्म सामग्री ढुवानी गरिएको जनाइएको छ।
यस्तै, हुम्लाको हिमालपारिको लिमी क्षेत्रका चार केन्द्रमा सोमबार हेलिकोप्टरमार्फत सामग्री पुर्याइएको हो। दुर्गमता, हिमपात र सुरक्षा संवेदनशीलताका कारण हेलिकोप्टर प्रयोग गरिएको सेनाले जनाएको छ। मतदानपछि मतपेटिका र कर्मचारीसमेत हेलिकोप्टरबाटै फिर्ता ल्याइने छ।
१२ घण्टा हिँडेर पुगे कर्मचारी
मुगु जिल्लाको मुगुमकार्मारोङ गाउँपालिकाको मुगुगाउँस्थित जनजागृति मतदान केन्द्रमा कर्मचारीहरू १२ घण्टा पैदल हिँडेर पुगेका छन्। सडक सञ्जालमा नजोडिएको उक्त केन्द्रमा मतपत्रलगायत सामग्री बोकेर कर्मचारी पुगेको मतदान अधिकृत होमराज गुरुङले जानकारी दिए।
उनका अनुसार विद्युत् आपूर्ति र इन्टरनेट सेवा अभावका कारण कामकाजमा कठिनाइ भएको छ। ६९९ मतदाता रहेको उक्त केन्द्रका लागि हेलिकोप्टर व्यवस्था भए सहज हुने सुझाव उनले दिएका छन्।प्रमुख जिल्ला अधिकारी खडानन्द खत्रीका अनुसार मुगुमकार्मारोङका चार केन्द्रका लागि हेलिकोप्टर माग गरिएको भए पनि प्राथमिकता हुम्ला र डोल्पालाई दिइएकाले यहाँ ढुवानी हुन नसकेको हो।
हिउँ छिचोल्दै मतदान केन्द्र पुगे मतदाता
हुम्लाको नाम्खा गाउँपालिका–६ अन्तर्गत लिमी क्षेत्रका मतदाता न्यालु लेकमा जमेको करिब दुई फिट हिउँ छिचोल्दै मतदान केन्द्र पुगेका छन्। सिमकोटबाट गाडीमार्फत सेलिबाङसम्म र त्यसपछि पैदल यात्रा गर्दै मतदाता लिमी पुगेका हुन्।
स्थानीय कुजोक लामाका अनुसार उनीहरू बिहान ८ बजे सेलिबाङबाट हिँडेर साँझ ५ बजे लिमीको तुम्लिङ पुगेका थिए। टोलीमा ४० जना मतदाता रहेका छन्। केही ज्येष्ठ नागरिकलाई घोडामार्फत सहजीकरण गरिएको थियो भने युवा हिउँमै पैदल हिँडेका थिए।
लिमीका वडाध्यक्ष पाल्जोर तामाङले कठिन परिस्थिति हुँदाहुँदै पनि मतदाता मतदानका लागि गाउँ फर्किएको बताए। मतदाताहरू गाउँ पुगेपछि कात्तिकदेखि बन्द रहेका घरहरू पुनः खुलेका छन्।

