विश्व वन्यजन्तु दिवस : जडीबुटी संरक्षणमा जोड, कानुनी अस्पष्टताले फर्मुला हस्तान्तरणमा समस्या



काठमाडौँ — औषधीय गुण भएका जडीबुटीको संरक्षणमा जोड दिँदै मंगलबार विश्व वन्यजन्तु दिवस मनाइएको छ। सन् २०२६ का लागि ‘औषधी र सुगन्धित बिरुवाहरू : स्वास्थ्य, सम्पदा र जीविकोपार्जन’ विषयवस्तु तय गरिएको छ।

वनस्पति विभाग, नेपालका अनुसार नेपालमा ८१९ जडीबुटीजन्य प्रजाति सूचीकृत छन्, जसमध्ये ३३ प्रजाति खेती विस्तारका लागि अघि सारिएका छन् भने १२ प्रजातिमा अनुसन्धान भइरहेको छ। लोपोन्मुख प्रजातिलाई ११ सरकारी बोटानिकल बगैँचामा संरक्षण गरिएको र गोदावरीस्थित बीउ बैंकमा ८ सय प्रजातिका बीउ सुरक्षित राखिएको विभागले जनाएको छ।

यद्यपि, स्पष्ट कानुनी व्यवस्था अभावमा विकसित औषधीय फर्मुला स्वदेशी तथा विदेशी कम्पनीलाई हस्तान्तरण गर्न समस्या भइरहेको विभागले जनाएको छ। हाल १८ वटा औषधीय फर्मुला प्रयोगशालामै थन्किएको बताइएको छ।

विशेषज्ञहरूले ठोस रणनीति र कानुनी स्पष्टता भए नेपालका जडीबुटी विश्व बजारमा औषधिका रूपमा विस्तार भई राजस्वको ठूलो स्रोत बन्न सक्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्