निर्वाचनका कारण उपत्यकाबाट ७ लाख ५० हजार बाहिरिए



काठमाडौँ,फागुन २०— निर्वाचन, होली पर्व र लगातारको सार्वजनिक बिदाका कारण काठमाडौँ उपत्यकाबाट करिब सात लाख ५० हजार मानिस बाहिरिएका छन्। बुधबार साँझसम्म थप करिब एक लाख यात्रु बाहिरिने अनुमान गरिएको छ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मंगलबार मात्र करिब एक लाख यात्रु उपत्यका बाहिरिएका थिए। कार्यालयका नायब उपरीक्षक सुनीलजङ्ग शाहले लामो दूरीका सवारीसाधनमा यात्रुको अत्यधिक चाप देखिएको र नियमित रुटमा सवारी संख्या थपिएको जानकारी दिए।

मंगलबार बसपार्क, कलङ्की, बल्खु, कोटेश्वरलगायत स्थानमा यात्रुको लामो लाइन देखिएको थियो। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका कार्यवाहक अध्यक्ष सरोज सिटौलाका अनुसार निर्वाचनको अघिल्लो दिन फागुन २० गते लामो तथा मध्यम दूरीका रात्रि बस सञ्चालन नहुने भएकाले मंगलबार यात्रुको चाप बढेको हो।निर्वाचन आयोग, नेपालले फागुन २० गते राति १२ बजेदेखि २१ गते बेलुका ५ बजेसम्म अत्यावश्यक बाहेकका निजी तथा सार्वजनिक सवारी सञ्चालनमा रोक लगाउने निर्णय गरेकाले रात्रि बस नचल्ने महासङ्घले जनाएको छ।

सरकारले फागुन २०, २१ र २२ गते सार्वजनिक बिदा दिएको छ।त्यसपछि २३ गते शनिबार र २४ गते अन्तर्राष्ट्रिय महिला दिवसको बिदा परेकाले फागुन १८ देखि २४ गतेसम्म निरन्तर सार्वजनिक बिदा परेको छ

प्रतिक्रिया दिनुहोस्