निर्वाचन लक्षित स्वास्थ्य संस्था ‘हाई अलर्ट’मा



काठमाडौँ, फागुन २० — प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, नेपालले देशभरका स्वास्थ्य संस्थालाई ‘हाई अलर्ट’मा राख्दै आकस्मिक सेवा सुदृढ बनाएको छ।

मन्त्रालयका अनुसार सम्भावित झडप र आकस्मिक घटनालाई ध्यानमा राखी आकस्मिक कक्षमा अतिरिक्त चिकित्सक, नर्स र उपकरण व्यवस्थापन गरिएको छ। एम्बुलेन्स तयारी अवस्थामा राखिएको छ भने आवश्यक परे छिमेकी जिल्लाबाट पनि स्वास्थ्यकर्मी परिचालन गरिने व्यवस्था मिलाइएको छ।

२५ हब अस्पतालसहित संघीय, प्रादेशिक र स्थानीय तहका अस्पताललाई २४सै घण्टा सेवा दिन निर्देशन दिइएको छ। गम्भीर घाइतेलाई तुरुन्तै प्रादेशिक वा संघीय अस्पतालमा रिफर गर्ने तयारीसमेत गरिएको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्