प्रतिनिधिसभा निर्वाचनको सम्पूर्ण तयारी पूरा : गृह मन्त्रालय
काठमाडौं, फागुन २० — गृह मन्त्रालय, नेपालले बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ।
आज बिहान ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग गरिएको ‘भर्चुअल’ बैठकपछि मन्त्रालयले सुरक्षा, व्यवस्थापन तथा अन्य प्रशासनिक तयारी सम्पन्न भएको निष्कर्ष निकालेको हो। गृहसचिव राजकुमार श्रेष्ठको अध्यक्षतामा बसेको बैठकमा मन्त्रालयका उच्च अधिकारी तथा सबै जिल्लाका प्रमुख जिल्ला अधिकारी सहभागी थिए।
बैठकमा जिल्लागत निर्वाचन तयारी, सुरक्षा अवस्था, केन्द्रसँगको समन्वय र मतदानका दिन अपनाउनुपर्ने सतर्कताबारे छलफल गरिएको मन्त्रालयकी सहप्रवक्ता रमा आचार्यले जानकारी दिइन्। उनका अनुसार सबै जिल्लाबाट सुरक्षा अवस्था सामान्य रहेको र कर्मचारी, सुरक्षा संयन्त्र तथा निर्वाचन सामग्री मतदानस्थलमा पुगिसकेको जानकारी गराइएको छ।
गृहसचिव श्रेष्ठले निर्वाचन सुरक्षालाई थप मजबुत र प्रभावकारी बनाउन प्रमुख जिल्ला अधिकारीहरूलाई आवश्यक निर्देशन दिएका छन्।

