बागमतीमा २६ अस्थायी मतदान केन्द्र, काठमाडौँमा सबैभन्दा धेरै



काठमाडौँ, फागुन २० — निर्वाचन आयोग, नेपालले बागमती प्रदेशका विभिन्न जिल्लामा २६ वटा अस्थायी मतदान केन्द्र तोकेको जनाएको छ। देशभर भने १४३ अस्थायी मतदान केन्द्र निर्धारण गरिएको छ।

आयोगका अनुसार सबैभन्दा धेरै ६ वटा अस्थायी मतदान केन्द्र काठमाडौँ जिल्लामा तोकिएका छन्। काठमाडौँमा सात हजार ६८७ अस्थायी मतदाता कायम छन्। ती केन्द्र काठमाडौँ महानगरपालिका–११ स्थित जगन्नाथ देवालयको केन्द्रीय कारागार, वडा नं ३० स्थित डिल्लीबजार कारागार, नगार्जुन नगरपालिका–३ को सशस्त्र प्रहरी बलको कार्यालय, भद्रकाली मन्दिर तथा जिल्ला प्रशासन कार्यालयका भवनमा रहनेछन्।

यस्तै भक्तपुरमा २,३०४, ललितपुरमा २,५४९, काभ्रेपलाञ्चोकमा २,४८१, मकवानपुरमा ३,३०७, चितवनमा ३,१८५, नुवाकोटमा २,९५६, धादिङमा २,८१८, रसुवामा १,००५, सिन्धुलीमा १,७७५, रामेछापमा २,४२२ र दोलखामा २,३११ अस्थायी मतदाता रहेका छन्।आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार कारागार, सरकारी कार्यालय, सुरक्षानिकाय, अस्पताल तथा सार्वजनिक संस्थानमा कार्यरत मतदातालाई लक्षित गर्दै अस्थायी मतदान केन्द्र तोकिएको हो।

प्रतिक्रिया दिनुहोस्