चितुवाको आक्रमण, ७ वर्षीय बालकको मृत्यु



बर्दिया,फागुन १९— बर्दियामा चितुवाको आक्रमणबाट एक ७ वर्षीय बालकको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन्। मृत्यु हुनेमा राजापुर नगरपालिका–१०, काला बन्जारका आदित्य चौधरी रहेका छन्। घर नजिकै खेलिरहेका बेला जंगलबाट बस्तीमा पसेको चितुवाले आक्रमण गर्दा उनी गम्भीर घाइते भएका थिए। स्थानीयवासीले उद्धार गरी जिल्ला अस्पताल गुलरिया पुर्‍याए पनि चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

बालकलाई बचाउने क्रममा ४० वर्षीय कृतिमान थारु, ४१ वर्षीय धनीराम थारु र ३८ वर्षीय श्यामलाल थारु घाइते भएका छन् ।उनीहरूको उपचार जिल्ला अस्पताल गुलरियामा भइरहेको छ।

दिउँसोको समयमा भएको घटनापछि स्थानीयवासी त्रसित बनेका छन्।पछिल्लो समय बर्दिया क्षेत्रमा वन्यजन्तु–मानव द्वन्द्व बढ्दै गएको भन्दै स्थानीयले सम्बन्धित निकायसँग आवश्यक नियन्त्रण र सुरक्षाका उपाय अवलम्बन गर्न माग गरेका छन्।

प्रतिक्रिया दिनुहोस्