रसुवामा ६१.३९ प्रतिशत मतदान, मतपेटिका सङ्कलन जारी
रसुवा,फागुन २१। प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भएको मतदानमा हिमाली जिल्ला रसुवामा ६१.३९ प्रतिशत मत खसेको छ। जिल्लामा रहेको एकमात्र निर्वाचन क्षेत्रमा कुल ४२ हजार ४ सय ७१ मतदातामध्ये २५ हजार ४ सय ५८ जनाले मतदान गरेका छन्।
मतदान गर्नेहरूमा ११ हजार ९ सय ५४ महिला र १३ हजार ४ सय ७३ पुरुष रहेका छन्। निर्वाचन कार्यालय रसुवाका अनुसार जिल्लाका सबै मतदान केन्द्रमा मतदान कार्य शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ।
निर्वाचन सम्पन्न भएसँगै मतपेटिका सङ्कलनको काम तीव्र रूपमा भइरहेको छ। दुर्गम तथा टाढा रहेको गोसाइँकुण्ड गाउँपालिका–४ लाङटाङस्थित सामुदायिक भवन मुण्डु मतदान केन्द्रको मतपेटिका नेपाली सेनाको हेलिकोप्टरमार्फत सदरमुकाम धुन्चे ल्याइएको छ।
सहायक निर्वाचन अधिकृत सरिता रिजालका अनुसार हालसम्म ४ वटा मतदान केन्द्रका मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आइपुगेका छन्।
भोलि बिहान मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सर्वदलीय बैठक बसेपछि मतगणना सुरु गरिने जनाइएको छ। मतगणनाका लागि जिल्ला अदालतको भवनलाई स्थल तोकिएको छ भने मतगणना स्थल वरिपरि करिब १० मिटर अग्लो तारजालीको सुरक्षा घेरा तयार गरिएको छ।

