काठमाडौं १ र ५ मा रास्वपाको अग्रता
काठमाडौं,फागुन २२ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत काठमाडौं क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार रञ्जु दर्शनाले मतान्तर बढाउँदै अग्रता कायम राखेकी छन्। हालसम्म ५ हजार ६ सय ९७ मत गणना हुँदा दर्शनाले २ हजार ६ सय १४ मत प्राप्त गरेकी छन्।
यस क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवार प्रबल थापाले १ हजार ४ सय १३ मत ल्याएका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का रविन्द्र मिश्रले ७ सय १२ मत प्राप्त गरेका छन्। नेकपा एमालेका उम्मेदवार मोहनराज रेग्मीले २ सय ३६ मत प्राप्त गरेका छन्। काठमाडौं–१ क्षेत्रमा यसअघि लगातार चार पटक नेपाली कांग्रेसले जित्दै आएको थियो।
यस्तै काठमाडौं क्षेत्र नम्बर ५ मा पनि रास्वपाकै उम्मेदवारले सुरुवाती अग्रता लिएका छन्। रास्वपाका उम्मेदवार सस्मित पोखरेलले १ हजार ४ सय २४ मत प्राप्त गर्दै अग्रस्थानमा रहेका छन्।
त्यसैगरी नेपाली कांग्रेसका उम्मेदवार प्रदीप पौडेल ४ सय १२ मतसहित दोस्रो स्थानमा छन् भने नेकपा एमालेका उम्मेदवार ईश्वर पोखरेलले २ सय ८५ मत प्राप्त गर्दै तेस्रो स्थानमा रहेका छन्।

