१३ स्थानको प्रारम्भिक मतपरिणाम : १० क्षेत्रमा रास्वपाको अग्रता



काठमाडौं, फागुन २२ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बिहीबार सम्पन्न मतदानपछि रातिदेखि नै देशका विभिन्न स्थानमा मतगणना सुरु भएको छ। निर्वाचन आयोगका अनुसार हालसम्म १३ निर्वाचन क्षेत्रमा मतगणनाको प्रारम्भिक परिणाम सार्वजनिक भएको छ।

सार्वजनिक प्रारम्भिक परिणामअनुसार १० स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अग्रता कायम गरेको छ भने २ स्थानमा नेकपा एमाले र १ स्थानमा उज्यालो नेपाल पार्टी अगाडि रहेको छ।

काठमाडौंका विभिन्न क्षेत्रमा रास्वपाका उम्मेदवारहरूले अग्रता बनाएका छन्। काठमाडौं क्षेत्र नम्बर १ मा रञ्जु दर्शना, क्षेत्र नम्बर २ मा सुनिल केसी, क्षेत्र नम्बर ४ मा पुकार बम, क्षेत्र नम्बर ५ मा सस्मित पोखरेल, क्षेत्र नम्बर ७ मा गणेश पराजुली, क्षेत्र नम्बर ८ मा विराजभक्त श्रेष्ठ तथा क्षेत्र नम्बर १० मा प्रदीप विष्टले प्रारम्भिक अग्रता लिएका छन्।

त्यसैगरी भक्तपुर क्षेत्र नम्बर १ मा रुकेश रन्जित, बाँके क्षेत्र नम्बर १ मा सुरेशकुमार चौधरी र कञ्चनपुर क्षेत्र नम्बर २ मा दीपक बोहोराले पनि अग्रता कायम गरेका छन्।

यसैबीच नेकपा एमालेले पनि दुई क्षेत्रमा अग्रता बनाएको छ। चितवन क्षेत्र नम्बर २ मा अस्मिन घिमिरे तथा बाँके क्षेत्र नम्बर २ मा मोहम्मद इस्तियाक राई अगाडि रहेका छन्।

त्यस्तै काठमाडौं क्षेत्र नम्बर ३ मा उज्यालो नेपाल पार्टीका उम्मेदवार कुलमान घिसिङले प्रारम्भिक अग्रता बनाएका छन्।

निर्वाचन आयोगका अनुसार मतगणना कार्य जारी रहेकाले अन्तिम परिणाम आउन अझै केही समय लाग्नेछ।

प्रतिक्रिया दिनुहोस्