काठमाडौँ-१ बाट रास्वपाकी रञ्जु न्यौपाने दर्शना विजयी
काठमाडौँ,फागुन २२ । काठमाडौँ क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार रन्जु न्यौपाने दर्शना प्रतिनिधि सभा सदस्यमा विजयी हुनु भएको छ ।
उहाँले १५४५५ मत ल्याउनु भएको छ भने उहाँको निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका प्रवल थापाले ६३६४ मत प्राप्त गर्नुभएको छ।
विसं २०५० साल फागुन २० गते मोरङमा जन्मनुभएकी ३२ बर्षीया न्यौपानेले काठमाडौँ विश्वविद्यालयबाट विकासशास्त्रमा स्नातकोत्तर गर्नुभएको छ।
नेपालको संविधान-२०७२ जारी भएपछि पहिलो पटक भएको स्थानीय तह निर्वाचनमा रञ्जुले विवेकशील नेपाली पार्टीबाट काठमाडौँ महानगरपालिकाको मेयर पदका प्रतिश्पर्धा गर्नुभएको थियो ।
विवेकशील नेपाली दलको काठमाडौँ जिल्ला संगठन विस्तारमा सक्रिय रहनुभएकी रञ्जु पार्टीको सामाजिक सेवा क्लबमार्फत महिला हिंसाविरुद्धका अभियान, सरसफाइ कार्यक्रम तथा युवा उद्यमशीलताका कार्यक्रममा पनि उत्तिकै परिचित नाम हो ।
२०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा उहाँ काठमाडौँ-१ बाटै स्वतन्त्र उमेदवार बन्नुभएको थियो ।
२०७९–२०८१ सालमा विवेकशील साझा पार्टीको पहिलो महाधिवेशनबाट महासचिवमा निर्वाचित हुनुभएकी दर्शना २०८२ सालमा विवेकशील साझा पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बीच भएको एकीकरणपछि संघीय नेतृत्व मञ्च हुँदै केन्द्रीय समितिको सदस्यमा मनोनित हुनुभएको हो।
रास्वपाको तर्फबाट काठमाडौँ–१ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बन्नुभएकी दर्शनाले नेपाली काँग्रेसका प्रवल थापालाई पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको हो ।

