भक्तपुर–२ मा रास्वपाका राजीव खत्रीको अग्रता कायमै



भक्तपुर,फागुन २२ — प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बिहीबार सम्पन्न मतदानपछि जारी मतगणनामा भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार राजीव खत्रीले अग्रता कायम राख्नुभएको छ।

पछिल्लो मत परिणामअनुसार खत्रीले ७ हजार २ मत प्राप्त गर्नुभएको छ। उहाँका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का महेश बस्नेतले २ हजार ५ सय ३८ मत प्राप्त गर्नुभएको छ।

त्यस्तै नेपाली कांग्रेसका उम्मेदवार कविर राणाले १ हजार १ सय ५८ मत प्राप्त गरी तेस्रो स्थानमा रहनुभएको छ। नेपाल मजदुर किसान पार्टीका रमेश वैद्यले २२७ मत, राष्ट्रिय प्रजातन्त्र पार्टीका विक्रम थापाले २०२ मत तथा नेपाली कम्युनिस्ट पार्टीका जितराम लामाले १६९ मत प्राप्त गर्नुभएको जिल्ला निर्वाचन कार्यालय भक्तपुरले जनाएको छ।कार्यालयका सूचना अधिकारी भीम बिसीका अनुसार मतगणना कार्य जारी रहेको छ र शनिबार दिउँसोसम्म अन्तिम परिणाम सार्वजनिक हुने सम्भावना रहेको छ।

भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ मा कुल ९८ हजार २५६ मतदाता रहेकामा ७२ हजार १२६ मत खसेको थियो। उक्त क्षेत्रमा सूर्यविनायक नगरपालिका र मध्यपुर थिमी नगरपालिका पर्दछन्। हालसम्म सूर्यविनायक नगरपालिका वडा नम्बर ७ र १ तथा मध्यपुर थिमी नगरपालिका वडा नम्बर १ र २ को मतगणना सम्पन्न भएको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्