प्रतिनिधिसभा निर्वाचन : काठमाडौंका तीन क्षेत्रमा रास्वपा विजयी, मनाङ–मुस्ताङमा कांग्रेस, रुकुमपूर्वमा नेकपा



काठमाडौँ,फागुन २२ — प्रतिनिधिसभा सदस्य निर्वाचनको मतपरिणाम आउने क्रम सुरु भएको छ। हालसम्म सार्वजनिक नतिजाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले काठमाडौंका तीन निर्वाचन क्षेत्रमा जित हात पारेको छ भने नेपाली कांग्रेसले मनाङ र मुस्ताङमा विजय हासिल गरेको छ। यस्तै रुकुमपूर्वमा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार विजयी भएका छन्।

काठमाडौं क्षेत्र नम्बर १ बाट रास्वपाकी उम्मेदवार रञ्जु न्यौपाने (दर्शना) १५ हजार ४ सय ५५ मतसहित विजयी हुनुभएको छ। उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका प्रबल थापाले ६ हजार ३ सय ६४ मत प्राप्त गर्नुभएको छ। राप्रपाका रविन्द्र मिश्रले ३ हजार ९ सय ७२ मत प्राप्त गर्नुभयो। वैकल्पिक राजनीतिक धारबाट उदाउनुभएकी न्यौपाने निर्वाचनअघि विवेकशील साझा पार्टीबाट रास्वपामा प्रवेश गर्नुभएको थियो।

काठमाडौं क्षेत्र नम्बर ८ मा पनि रास्वपाका विराजभक्त श्रेष्ठ २४ हजार ५ सय ९२ मतसहित विजयी हुनुभएको छ। उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी सपना राजभण्डारीले ३ हजार २ सय १७ मत प्राप्त गर्नुभएको छ। २०७४ देखि संसदीय राजनीतिमा सक्रिय श्रेष्ठ यसअघि विवेकशील साझा पार्टीबाट बागमती प्रदेशसभा सदस्यसमेत रहनुभएको थियो।

त्यस्तै काठमाडौं क्षेत्र नम्बर ६ मा रास्वपाका शिशिर खनाल २७ हजार ९ सय १६ मतसहित विजयी हुनुभएको छ। उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सबुज बानियाले ६ हजार ६ सय ४७ मत प्राप्त गर्नुभएको छ। खनाल यसअघि पनि सोही क्षेत्रबाट निर्वाचित हुनुभएको थियो।

यसैबीच नेपाली कांग्रेसले मुस्ताङबाट जितको खाता खोलेको छ। कांग्रेसका योगेश गौचनले नेकपा एमालेका इन्द्रधारा विष्टलाई १ हजार ५ सय १ मतान्तरले पराजित गर्दै ३ हजार ३ सय ७ मतसहित विजयी हुनुभएको हो। विष्टले १ हजार ८ सय ६ मत प्राप्त गर्नुभएको छ।
मनाङमा पनि नेपाली कांग्रेसका टेकबहादुर गुरुङ विजयी हुनुभएको छ। उहाँले नेकपाकी उम्मेदवार यशोदा गुरुङलाई २ हजार ४ सय १५ मतान्तरले पराजित गर्नुभएको हो। गुरुङ यसअघि पनि सोही क्षेत्रबाट निर्वाचित हुनुभएको थियो।

यता रुकुमपूर्वमा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ११ हजार २ सय ८२ मतसहित विजयी हुनुभएको छ। उहाँले नेकपा एमालेका लीलामणि गौतमलाई पराजित गर्नुभएको हो। दाहाल यसअघि विभिन्न निर्वाचन क्षेत्रबाट निर्वाचित हुँदै आएका अनुभवी नेता हुन् र चार पटक प्रधानमन्त्रीसमेत भइसकेका छन्।
देशभर मतगणना जारी रहेकाले अन्य क्षेत्रका परिणाम पनि क्रमशः सार्वजनिक हुँदै जाने निर्वाचन आयोगले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्