देशभर मतगणनामा रास्वपाको दबदबा, १०८ स्थानमा अग्रता



काठमाडौं,फागुन २२— प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उल्लेख्य अग्रता बनाएको छ। निर्वाचन आयोगका अनुसार गणना भइरहेका १३५ निर्वाचन क्षेत्रमध्ये बेलुका ७ः४५ बजेसम्म रास्वपाका उम्मेदवार १०८ स्थानमा अग्रस्थानमा रहेका छन्।

पछिल्लो विवरणअनुसार नेपाली कांग्रेसका उम्मेदवार १२ स्थानमा अगाडि छन् भने नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार सात स्थानमा अग्रता कायम गरेका छन्। त्यस्तै श्रम संस्कृति पार्टीका उम्मेदवार छ स्थानमा अगाडि रहेका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी र उज्यालो नेपाल पार्टीले भने एक–एक स्थानमा अग्रता बनाएका छन्।

यसैबीच हालसम्म सार्वजनिक परिणामअनुसार रास्वपाले दुई स्थानमा विजय हासिल गरिसकेको छ। नेपाली कांग्रेसले दुई स्थानमा र नेपाली कम्युनिष्ट पार्टीले एक स्थानमा जित निकालेका छन्। देशभर मतगणना जारी रहेकाले अन्य निर्वाचन क्षेत्रका परिणाम क्रमशः सार्वजनिक हुँदै जाने निर्वाचन आयोगले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्