नुवाकोट–२ मा रास्वपाका अचुत्तम लामिछानेको फराकिलो अग्रता



नुवाकोट, फागुन २३ — प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत नुवाकोट निर्वाचन क्षेत्र नम्बर २ मा जारी मतगणनाले स्थानीय राजनीतिक माहोललाई निकै चासोपूर्ण बनाएको छ। मत परिणाम सार्वजनिक हुँदै जाँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार अचुत्तम लामिछानेले प्रतिस्पर्धी उम्मेदवारहरूभन्दा उल्लेख्य अन्तरले अग्रता कायम गरेका छन्।

मुख्य निर्वाचन अधिकृतको कार्यालय नुवाकोटका अनुसार बेलकोटगढी नगरपालिका, म्यागङ गाउँपालिका, तारकेश्वर गाउँपालिका र किस्पाङ गाउँपालिकाको मतगणना सम्पन्न हुँदासम्मको परिणाममा लामिछानेले १६ हजार १३२ मत प्राप्त गरेका छन्।

उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार जगदिश्वर नरसिंह के.सी.ले १० हजार २२१ मत प्राप्त गरेका छन्। त्यसैगरी नेकपा (एमाले) का उम्मेदवार केशव राज पाण्डेले ५ हजार ५३२ मत ल्याएका छन् भने नेपाली कम्युनिष्ट पार्टीका हिरानाथ खतिवडाले ५ हजार १८६ मत प्राप्त गरेका छन्।

यसैबीच राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार झनक प्याकुरेलले ४ सय ३८ मत प्राप्त गरेका छन्। हालसम्म सार्वजनिक मतपरिणामले नुवाकोट–२ मा रास्वपाप्रति मतदाताको आकर्षण देखिएको विश्लेषण गरिएको छ। यद्यपि मतगणना अझै जारी रहेकाले अन्तिम परिणाम आउन बाँकी रहेको निर्वाचन कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्