नुवाकोट–१ मा रास्वपाका डा. तिमिल्सिनाको अग्रता, ककनीको मतगणना सम्पन्न
नुवाकोट, फागुन २३ — प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत नुवाकोट निर्वाचन क्षेत्र नम्बर १ को मतगणना क्रम जारी रहँदा प्रारम्भिक चरणमै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. विक्रम तिमिल्सिनाले अग्रता कायम गरेका छन्।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार ककनी गाउँपालिकाको मतगणना सम्पन्न भइसकेको छ। हालसम्मको मतपरिणामअनुसार डा. तिमिल्सिनाले ४ हजार १९८ मत प्राप्त गर्दै पहिलो स्थानमा रहेका छन्।उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार डा. प्रकाशशरण महतले २ हजार ८५१ मत प्राप्त गरेका छन्। त्यसैगरी नेपाल कम्युनिस्ट पार्टीका उम्मेदवार हितबहादुर तामाङले २ हजार २४५ मत प्राप्त गर्दा नेकपा (एमाले) का उम्मेदवार बद्री मैनालीले १ हजार ६६० मत ल्याएका छन्।
हालसम्मको मतपरिणामअनुसार डा. तिमिल्सिना १ हजार ३४७ मतले अग्रस्थानमा रहेका छन्। ककनी गाउँपालिकाको मतगणना सकिए पनि यस निर्वाचन क्षेत्रमा अझै ६ वटा गाउँपालिकाको मतगणना हुन बाँकी रहेको निर्वाचन कार्यालयले जनाएको छ।
बाँकी क्षेत्रको मतगणनाले अन्तिम परिणाममा प्रभाव पार्न सक्ने भएकाले अहिले नै निर्वाचनको अन्तिम नतिजाबारे आकलन गर्न हतार हुने बताइएको छ। मतगणना भने क्रमशः जारी रहेको छ।

