नुवाकोट–१ मा घट्दै रास्वपाको मतान्तर, तादी–१ मा एमाले अगाडि
नुवाकोट, फागुन २३ — प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत नुवाकोट क्षेत्र नम्बर १ को जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को मतान्तर घट्न थालेको छ। यसअघि ककनी गाउँपालिकाको विभिन्न वडामा मत बढाएको रास्वपाले तादी गाउँपालिका–१ को मतगणना परिणाम सार्वजनिक भएसँगै मतान्तर घट्न थालेको हो । नेकपा (एमाले) ले उक्त वडामा अग्रता लिएको छ।यद्यपि यस क्षेत्र एमाले उम्मेदवार बद्री मैनालीको प्रभाव क्षेत्र मानिदै आएको छ ।
तादी गाउँपालिका–१ को अन्तिम मत परिणामअनुसार नेकपा (एमाले )को सूर्य चुनाव चिह्नले ४१३ मत प्राप्त गरेको छ भने नेपाली काङ्ग्रेसको रुख चिन्हले ४०५ मत ल्याएको छ। त्यसैगरी नेकपाको तारा चिह्नले ३१३ मत प्राप्त गर्दा रास्वपाको घण्टी चिह्नले २६८ मत पाएको छ। यस वडामा बदर मत ९८ रहेको छ भने चिम चिह्नले २६ मत प्राप्त गरेको छ।
यस वडासम्मको समग्र मत परिणामअनुसार भने रास्वपा अझै अग्रस्थानमै रहेको छ। हालसम्मको गणनाअनुसार रास्वपाको घण्टी चिह्नले ४ हजार ४ सय ६५ मत प्राप्त गरेको छ। त्यस्तै नेपाली काङ्ग्रेसको रुख चिह्नले ३ हजार २ सय ५३ मत पाएको छ भने नेकपाको तारा चिह्नले २ हजार ५ सय ५७ मत ल्याएको छ। एमालेको सूर्य चिह्नले २ हजार ७२ मत प्राप्त गरेको छ।
निर्वाचन कार्यालयका अनुसार नुवाकोट क्षेत्र नम्बर १ मा मतगणना जारी रहेको छ र बाँकी क्षेत्रको परिणाम आउँदै जाँदा मतान्तरमा थप उतारचढाव हुन सक्ने अनुमान गरिएको छ।

