नुवाकोट–२ मा रास्वपाका अच्युतम लामिछानेको १२ हजारको फराकिलो अग्रता



नुवाकोट, फागुन २३ — प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत नुवाकोट क्षेत्र नम्बर २ को मतगणना क्रमशः अघि बढ्दै जाँदा राजनीतिक माहोल थप चासोपूर्ण बन्दै गएको छ। पछिल्लो मतपरिणामले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार अच्युतम लामिछानेलाई स्पष्ट अग्रस्थानमा देखाएको छ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय नुवाकोटका प्रमुख होमबहादुर रानामगरका अनुसार बेलकोटगढीनगरपालिका., म्यागङ गाउँपालिका तारकेश्वर गाउँपालिका, किस्पाङ गाउँपालिकाको मतगणना सम्पन्न भइसकेको छ। साथै विदुर नगरपालिकाका वडा नं. १, ३, ४, ५, ७, १० र १३ को मतगणना सकिँदासम्मको परिणामले पनि लामिछानेको अग्रता झनै मजबुत बनाएको छ।

हालसम्मको मतपरिणामअनुसार लामिछानेले २५ हजार ९ सय ७० मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार जगदिश्वर नरसिंह के.सी.ले १३ हजार ८ सय ४० मत प्राप्त गरेका छन्। दुई प्रतिस्पर्धी बीचको अन्तर १२ हजार नाघेको छ।

त्यसैगरी नेकपा (एमाले) का उम्मेदवार केशव राज पाण्डेले ७ हजार २ सय ७५ मत ल्याएका छन् भने नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार हिरानाथ खतिवडाले ६ हजार १ सय ६४ मत प्राप्त गरेका छन्।यसैबीच राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार झनक प्याकुरेलले ६ सय १९ मत प्राप्त गरेका छन्।

हालसम्मको मतगणनाले नुवाकोट–२ मा रास्वपाप्रति मतदाताको आकर्षण देखिएको विश्लेषण गरिएको छ। यद्यपि निर्वाचन कार्यालयका अनुसार मतगणना अझै जारी रहेकाले अन्तिम परिणाम आउन बाँकी नै रहेको छ।

प्रतिक्रिया दिनुहोस्