म्याग्दीबाट स्वतन्त्र उम्मेदवार महावीर पुन भारी मतका साथ विजयी



म्याग्दी,फागुन २३— फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा म्याग्दीबाट स्वतन्त्र उम्मेदवार महावीर पुन भारी मतका साथ विजयी भएका छन्। एक मात्र निर्वाचन क्षेत्र रहेको म्याग्दीमा पुनले प्रमुख प्रतिस्पर्धीहरूलाई फराकिलो मतान्तरले पछि पार्दै विजय हासिल गरेका हुन्।

प्राप्त मतपरिणामअनुसार पुनले २२ हजार ८ सय ५० मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का उम्मेदवार हरिकृष्ण श्रेष्ठले ७ हजार १ सय १९ मत प्राप्त गरेका छन्। यसरी पुनले श्रेष्ठको भन्दा झण्डै तीन गुणा बढी मत ल्याएर जित सुनिश्चित गरेका छन्।

त्यसैगरी नेपाली कांग्रेसका उम्मेदवार कर्णबहादुर भण्डारीले ६ हजार ६ सय ८४ मत प्राप्त गरेका छन् भने नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार अर्जुन थापाले ३ हजार ५ सय २९ मत ल्याएका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयले भने परिणामको औपचारिक घोषणा गर्न बाँकी रहेको जनाएको छ।

एउटामात्र निर्वाचन क्षेत्र रहेको म्याग्दीमा कुल ८६ हजार ३ सय ९७ मतदाता रहेकोमा यस निर्वाचनमा ४६ हजार २ सय १५ मत खसेको थियो।

प्रतिक्रिया दिनुहोस्